बीवाडीका ईभीमा वारेन्टी बढ्यो, अब १० वर्ष पाइने

काठमाडौं । वीवाइडीको विद्युतीय सवारी (ईभी)मा पाइने वारेन्टी अवधि बढेको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाइडीका ईभीको वारेन्टी अवधि बढाएको हो ।

कम्पनीले अब बिक्री हुने सबै बीवाइडीका ईभीमा व्यापक विस्तारित वारेन्टी नीति (कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी) लागू गर्ने घोषणा गरेको हो ।

साइमेक्स इंकका अनुसार बीवाडीका ईभीको ब्याट्री, मोटर, होल भेहिकल र पार्टस सबैको वारेन्टी बढाइएको हो ।

कम्पनीले बीवाइडीको ईभीको ब्याट्रीको वारेन्टी थप २ वर्ष बढाएको छ । हाल ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिँदै आएको कम्पनीले अब १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिने भएको छ ।

त्यस्तै, मोटरमा पनि २ वर्ष वारेन्टी थप गरेको छ । हाल बीवाइडीको ईभीको मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेकोमा बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्याइएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, होल भेहिकल वारेन्टी पनि बढाएको छ । कम्पनीले लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिँदै आएकोमा अब ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर वारेन्टी दिने भएको छ ।

जनरल भेहिकल पाट्र्सहरू जस्तै कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पाट्र्स बाहेकका सबै भेहिकल पाट्र्समा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिँदै आएको साइमेक्सले अब ७.५ वर्ष वा १ लाख ८७ हजार ५०० किलोमिटरको वारेन्टी दिने भएको हो ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियता प्रतिको बलियो विश्वासलाई झल्काउने कम्पनीले जनाएको छ ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले वारेन्टी एक्सटेन्डले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काएको बताए ।

‘हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाइडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ,’ उनले भने, ‘विद्युतीय सवारीतर्फको रुपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा, यो पहलले हाम्रा ग्राहकहरूमाझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं ।’

बीवाइडीले हाल नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर, ३० बढी चार्जिङ नेटवर्कमार्फत बीवाइडीका ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ ।

 


Back_to_top