सवारीधनीले कुन कम्पनीमा गर्छन् सबैभन्दा धेरै मोटर बीमा ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन-फागुन)मा झण्डै साढे १२ लाख मोटर बीमा पोलिसी जारी भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म १८ कम्पनी (१४ निर्जीवन र ४ लघु निर्जीवन बीमा)ले १२ लाख ४५ हजार ४६३ वटा मोटर बीमा पोलिसी बिक्री गरेका हुन् ।

८ महिनामा बीमा कम्पनीहरूले मोटर बीमा बापत कुल ९ अर्ब ११ करोड ९४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको प्राधिकरणको तथ्यांक छ । कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१.८८ प्रतिशत रहेको छ ।

चालु आवमा लघु बीमा कम्पनीले मोटर बीमा बढाएका छन् भने निर्जीवन बीमा कम्पनीको घटेको छ । चालु आवमा १४ निर्जीवन बीमा कम्पनीले १० लाख ३४ हजार ५१ वटा र ४ लघु निर्जीवन बीम कम्पनीले २ लाख ११ हजार ४१२ वटा पोलसी बिक्री गरेका छन् ।

गत वर्ष फागुनसम्म १४ निर्जीवन बीमा कम्पनीले ११ लाख ३६ हजार ४७३ वटा मोटर बीमा पोलिसी बिक्री गरेका थिए । चालु आवमा निर्जीवन बीमा कम्पनीको पोलिसी संख्या घटे पनि प्रिमियम रकम भने ४३ करोड रुपैयाँले बढेको छ ।

आर्थिक मन्दी र मोटर बीमा व्यवसायमा लघु निर्जीवन बीमा कम्पनीको प्रवेशले निर्जीवन बीमा कम्पनीहरूको मोटर बीमा व्यवसाय घटेको बीमकहरू बताउँछन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री अर्थतन्त्रमा आएको मन्दीका कारण नयाँ सवारी साधनको बिक्री नबढ्दा निर्जीवन बीमा कम्पनीहरूको मोटर बीमा घटेको बताउँछन् ।

‘अहिले पनि आर्थिक मन्दी जारी नै छ । नयाँ सवारी साधन अपेक्षित रूपमा बढ्न सकेका छैनन् । त्यस्तै, माइक्रो इन्स्योरेन्स कम्पनीहरूले पनि मोटर बीमा गर्न थालेका छन् । यिनै कारण निर्जीवन बीमा कम्पनीको पोलिसी संख्या घटेको हो,’ उनले भने । केहीले पुराना पोलिसी समेत नवीकरण नगर्दा पनि असर देखिएको उनको भनाइ छ ।

सवारीधनीले आफ्नो साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ । साथै, सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न पनि मोटर बीमा गर्छन् । हाल ‘थर्ड पार्टी’ बीमा अनिवार्य भए पनि सवारी बीमा भने स्वेच्छिक रहेको छ ।

कुन कम्पनीमा गर्छन् धेरै बीमा ?

चालु आवको ८ महिनामा सवारीधनीले सबैभन्दा धेरै मोटर बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा गरेका छन् । प्राधिकरणका अनुसार फागुनसम्म हिमालयनले १ लाख ३३ हजार ११० वटा मोटर बीमा पोलिसी बिक्री गरेको छ ।

त्यसैगरी, ८ महिनामा सिद्धार्थ प्रिमियरले १ लाख १३ हजार २३६, नेकोले १ लाख ११ हजार ६४, शिखरले १ लाख ५ हजार ६०५ र सगरमाथा लुम्बिनीले १ लाख २ हजार ५६६ वटा मोटर बीमा पोलिसी जारी गरेका छन् ।

त्यसैगरी, फागुनसम्म आइजीआई प्रुडेन्सियलले ८९ हजार ६४६, एनएलजी इन्स्योरेन्सले ७५ हजार ५२४, नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार ९१८, प्रभुले ६३ हजार ८८, युनाइटेड अजोडले ६० हजार ७७४, स्टार माइक्रो इन्स्योरेन्सले ५३ हजार ३२८, सानिमा जीआइसीले ५२ हजार ५१० र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५१ हजार ११४ वटा मोटर बीमालेख जारी गरेको छ ।

यस अवधिमा ४ कम्पनीले भने ५० हजारभन्दा कम पोलिसी बिक्री गरेका छन् । जसमा ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्स ४३ हजार ५२, राष्ट्रिय बीमा कम्पनी २० हजार ३३०, द ओरेन्टल इन्स्योरेन्सले ११ हजार ६५१ र नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ५ हजार ४६० वटा मोटर बीमालेख जारी गरेका छन् ।


Back_to_top