टेस्लापछि चीनमा फ्याक्ट्री बनाउँदै लेक्सस, सांघाईमा किन्यो जमिन

काठमाडौं । चीन सरकारले अमेरिकी कम्पनी टेस्लापछि जापानी लग्जरी अटोमोबाइल ब्राण्ड लेक्ससलाई उत्पादन प्लाण्ट लगाउन शतप्रतिशत लगानीको सुविधा दिएको छ ।

टोयोटाको प्रिमियम लग्जरी ब्राण्ड लेक्ससले चीनको सांघाईमा ईभी प्लाण्टको लागि जमिन खरिद गरेको हो । लेक्ससले सांघाईको दक्षिण पश्चिम जिल्ला यिनशानमा ११ लाख ३० हजार स्क्वायर मिटरको जग्गा प्राप्ति गरेको हो ।

यो प्लट सांघाई यिनशान डिस्ट्रीक प्लानिङ एण्ड नेचुरल रिसोर्स ब्यूरोले लेक्ससलाई ५० वर्ष प्रयोग गर्न दिने गरी उक्त जमिन अप्रिल १ मा बिक्री गरेको हो । यो प्लटका लागि लेक्ससले साढे १८ करोड अमेरिकी डलर (सवा २५ अर्ब रुपैयाँ) लगानी गरेको हो ।

चीन सरकारले यो प्लटमा न्यू इनर्जी भेहिकल तथा लिथियम आयोन ब्याट्री र अन्य ईभी कम्पोनेन्ट उत्पादन गर्न स्वीकृत दिएको छ । टोयोटाले गत फेब्रुअरी ५ मै सांघाईमा पूर्ण स्वामित्वको उत्पादन प्लाण्ट बनाउने र लेक्सस ब्राण्डका ईभी उत्पादन गर्ने घोषणा गरेको थियो । लेक्सस ब्राण्डका ईभीहरू आगामी वर्षबाट उत्पादन सुरू गर्ने कम्पनीले जनाएको छ ।

टोयोटाले स्थापना गर्न लागेको यो प्लाण्टको वार्षिक क्षमता सुरूआतमा १ लाख युनिट रहने छ । यो प्रोडक्सन प्लाण्टले करिब १ हजार जनालाई प्रत्यक्ष रोजगारी समेत दिनेछ ।

चीन सरकारले यसअघि सन् २०१८ मा विदेशी प्योर ईभी ब्राण्डलाई शतप्रतिशत लगानी गर्न सक्ने नियम बनाएको थियो । त्यस लगत्तै अमेरिकी प्योर ईभी ब्राण्ड टेस्लाले जनवरी २०१९ मा सांघाईमा प्लाण्ट बनाउन सुरूवात गर्दै सोही वर्षको डिसेम्बरबाटै उत्पादन सुरू गरको थियो ।

त्यसअघि चीनमा सबै अन्तर्राष्ट्रिय ब्राण्डको उपस्थिति रहे पनि स्थानीय अटोमोबाइल कम्पनीसँग पार्टनरशिप गर्दै पर्ने बाध्यता थियो । टेस्लापछि टोयोटाको लेक्सस प्रोडक्सन फेसिलिटीमा शतप्रतिशत लगानी गर्ने दोस्रो कम्पनी भएको हो ।


Back_to_top