काठमाडौं । दुईपाँग्रे सवारी साधन मोटरसाइकल बजार गुलजार बन्दै गएको छ । कोभिडपछि ओरालो लागेको मोटरसाइकल व्यापार पछिल्लो समय लयमा फर्किएको हो ।
सन् २०२४ मा मोटरसाइकल बजारमा उछाल आएको छ । सन् २०२३ को तुलनामा २०२४ मा मोटरसाइकलको आयात १४०.७० प्रतिशतले बढेको छ ।
सन् २०२३ मा जम्मा ३६ हजार ४५४ युनिट मोटरसाइकल आयात भएकोमा २०२४ मा बढेर ८७ हजार ७४४ युनिट पुगेको छ । अघिल्लो वर्षको तुलनामा २०२४ मा ५१ हजार २९० युनिट धेरै मोटरसाइकल आयात भएको हो ।
पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा मोटरसाइकलको व्यापारमा उछाल आएको हो । कोभिडपछि सुरु भएको आर्थिक मन्दीको प्रभाव हट्न थालेसँगै व्यापारमा सुधार देखिएको हो ।
सन् २०२५ को दुई महिनाको आयात हेर्ने हो भने पनि व्यापार बढ्दो क्रममा रहेको पुष्टि गर्छ । सन् २०२५ को पहिलो दुई महिना (जनवरी- फेब्रुअरी) मा मात्रै २० हजार ५८ युनिट मोटरसाइकल आयात भएको देखिन्छ ।
सन् २०२३ मा मासिक औसतमा ३ हजार ३७ वटा मोटरसाइकल आयात भएकोमा २०२४ मा बढेर मासिक ७ हजार ३१२ युनिट पुगेको थियो । सन् २०२५ मा झन् बढेर औसतमा मासिक १० हजार २८ युनिट पुगेको छ ।
बजाजको वर्चश्व
नेपाली बजारमा दर्जन बढी ब्राण्डका मोटरसाइकल भित्रिन्छन् । बजारमा भने बजाजकै वर्चश्व देखिन्छ । सन् २०२४ मा बजाजले २७ हजार ३६० युनिट मोटरसाइकल नेपाल भित्र्याएको छ । यो कुल बजार हिस्साको झण्डै एकतिहाई अर्थात् ३१.१८ प्रतिशत हो ।
त्यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानका लागि ब्राण्डहरू बीच कडा प्रतिस्पर्धा देखिन्छ । दोस्रो स्थानमा रहेको हिरोले १४ हजार ११५ युनिट मोटरसाइकल आयात गर्दा तेस्रोमा टीभीएसले ११ हजार ९५४ युनिट मोटरसाइकल नेपाल भित्र्याएको छ ।
चौथो र पाँचौ स्थानमा रहेको यामाहा र होण्डाले लगभग उस्तै युनिट मोटरसाइकल नेपाल ल्याएका छन् । यामाहाले १० हजार ८४१ युनिट मोटरसाइकल ल्याउँदा होण्डाले १० हजार ६६ युनिट मोटरसाइकल नेपाल भित्र्याएको छ ।
छैटौं स्थानमा रहेको मिड साइज प्रिमियम मोटरसाइकल बिक्री गर्ने कम्पनी रोयल इनफिल्डले ९ हजार ९०३ युनिट मोटरसाइकल नेपाल ल्याएको हो ।
अर्को प्रिमियम मोटरसाइकल बिक्रेता कम्पनी केटीएमले १ हजार ७१० युनिट मोटरसाइकल ल्याउँदा, जोनसेनले २९७, सीएफ मोटोले २५६, सुजुकीले ७८, र्याप्टर १६ र अन्य ब्राण्डले १४८ युनिट मोटरसाइकल आयात गरको छ ।
२०२५ मा पनि बजाजले फराकिलो अन्तरले लिड गरेको छ भने दोस्रोमा हिरो क्रमशः यामाहा, होण्डा, टीभीएस, रोयल इनफिल्ड र केटीएम रहेको छन् ।


