काठमाडौं । मुग्लिन–नारायणगढ सडकखन्डमा बन्दै गरेका ३ पुलको निर्माण वैशाखसम्ममा सम्पन्न हुने भएको छ । अहिले निर्माणाधीन अवस्थामा रहेका मौरी, खानीखोला र दासढुंगा पुल निर्माणको काम आउँदो वैशाख महिनाभित्र सकिन लागेको हो ।
सो सडक खण्डमा ४ वटा पुल निर्माणको काम सडक विभाग अन्तर्गत वैदेशीक समन्वयन महाशाखाले जिम्मा लिएको छ । ती पुलहरु मध्ये जलवीरे पुलको निर्माण सम्पन्न हुन भने अझै केही समय लाग्ने वैदेशीक समन्वयन महाशाखाका प्रमुख केशव शर्माले जानकारी दिए ।
‘तीन पुलको निर्माण अब २ महिनामा सकिन्छ, एउटा पुल निर्माण सम्पन्न गर्न अझै ८/९ महिना लाग्छ होला,’ शर्माले मेरोअटोसँग भने ।
पुलहरु ११ मिटर चौडाइमा निर्माण भइरहेको छ । दासढुङ्गा र मौरी पुल १५÷१५ मिटर लम्वाइका रहेका छन् भने, खानीखोला पुलको लम्बाई २५ मिटर रहेको छ । ८० मिटर लम्वाईको जलविरे पुलको निर्माण कार्य सम्पन्न हुन भने थप ८/९ महिना लाग्ने भएको महाशाखाले जनाएको छ ।
जलविरे पुल निर्माण १४ करोड रुपैयाँमा ठेक्का दिइएको हो भने, अन्य तीन वटा पुल निर्माण गर्न १३ करोड रुपैयाँमा ठेक्का दिइएको थियो ।


