इनड्राइभ र पठाओले यसरी ठगे

काठमाडौं । नेपालको सार्वजनिक यातायातमा काम गर्ने सबै निकाय बदनाम छन् । मन लागेको समयमा बन्द गर्ने र समाजमा आतंक सृजना गर्न सार्वजनिक यातायात पर्याप्त छ । अझ यस क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई अराजक बनाउने सरकार नै हो ।

पछिल्ला दिनमा खुलेका राइड सेयरिङ कम्पनीहरू ठगीको मामलामा सार्वजनिक यातायात संचालकभन्दा दुई कदम अगाडि देखिएका छन् । त्यसको लागि म यहाँ दुई उदहारण प्रस्तुत गर्दैछु । पहिलो ठगिएको व्यक्ति म आफँै हुँ । दोस्रो घटना मैले आफैँले नजिकबाट देखेको हुँ ।

इनड्राइभ र पठाओबाट म आफैँ ठगिएको घटना काठमाडौंमा राजावादीले उपद्रो मच्चाएको दिनको हो । उपत्यका बाहिरबाट बेलुका काठमाडौं आउँदा जनजीवन सामान्य थियो । पोखराबाट आएकाले थकाइ लगेकै थियो । कागेश्वरी मनोहरा नगरपालिकाको थली जान साथीलाई भन्न मन लागेन । मित्रपार्कबाट मोटरसाइकलमा बसेर जाने निधो गर्दै साथीसँग छुट्टिएँ । गाडीबाट ओर्लिएर मैले इनड्राइभमा करिब १० रिक्वेस्ट गरेँ । करिब दुई दर्जन राइडरले हेरे कसैले थलीसम्म जान गरिएको रिक्वेस्ट एसेप्ट नै गरेनन् ।

मसँग पठाओ एप पनि थियो । त्यसमा पनि ड्राइभर सर्च गरे । चालक थिए, तर कसैले एसेप्ट गरेन । अन्तिममा उभिएको स्थानमा एउटा चालक आएर सोध्यो, ‘जाने हो दाइ ? मैले एपमा पाइन तिमी कताबाट आयौं भने ? उसले भन्यो आज कसैले त्यहाँको रेटमा चलाउँदैन भन्यो । म चुपचाप भएँ ।

राइड सेयरिङ कम्पनीहरूलाई सेवा दिन लगाउने हो भने छुट्टै नम्बर प्लेटको व्यवस्था गरौं । होइन, कानुनी दायरमा ल्याएर यस्ता कम्पनीलाई संचालन गर्न दिन सकिँदैन भने सधैंका लागि बन्द गरौं । व्यापारको नाममा नागरिक ठगी कुनै हालतमा पनि स्वीकार्य हुँदैन ।

कति लाग्छ, थलीसम्म गएको… मेरो प्रश्न पूरा नहुँदै उसले भन्यो ३०० रुपैयाँ दिनुस् न । मैले १५० मा त जहिल्यै लान्छ त भन्न नपाउँदै अर्को मानिस आए । मैले हतार हतार जाउँ भने । पछाडि बसे । उसले मोटरसाइकल अगाडि बढायो ।

त्यसपछि मेरो मन एउटा विषयले निकै पिरोल्यो । मनमनै सोचे ‘ओहो प्रधानमन्त्रीले जीविकोपार्जन र सर्भिसको लागि उत्तम कन्सेप्ट भनेको राइड सेयरिङ । कानुनको धज्जी उडाएर कानुन माथि राखेर चलाइएका यस्ता सुविधाको पोकोले हामी जस्तालाई मुर्गा नबनाए कसलाई बनाउँछन् त ?’

घर पुगेपछि ३०० रुपैयाँ तिरे, चुपचाप आफ्नो काममा लागे । सायद त्यो पुरानै घटना भए पनि त्यसलाई एक दिनको संकट सम्झेर केही लेख्न मन गरिन ।

हिजो त्यही राइड सेयरिङ कम्पनीको विषयलाई लिएर यातायात व्यवसायीले देशभर सवारी साधन चलाएनन् । सार्वजनिक यातायात नचलेको मौकामा चौका हान्दै मोटरसाइकल चालकहरूले ब्रह्मलुट मच्चाए । उनीहरूकै विरुद्धको आन्दोलनमा समेत उनीहरूले आम नागरिकलाई ठग्न कुनै कसर बाँकी राखेनन् ।

गोठाटार बस्ने सम्झना श्रेष्ठ नक्सालमा रहेको आफ्नो अफिस सकेर बेलुका ६ बजेदेखि पठाओ र इनड्राइभको खोजीमा रहिन् । करिब २ घण्टा सर्च गर्दा पनि उनले मोटरसाइकल पाउन सकिनन् । त्यसको मुख्य कारण थियो अघिपछि २०० रुपैयाँमा यात्रा हुने उक्त रुटमा ५०० रुपैयाँ अफर गर्दा पनि कसैले उनको रिक्वेस्ट एसेप्ट गरेन् । अन्ततः उनी बेलुका ८ बजे आफ्नो साथी बोलाएर घर गइन् ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता हजारौं यात्रुले हिजो पठाओ र इनड्राइभ पाएनन् । सार्वजनिक यातायात नचल्दा पनि लामो जाममा बस्नु पर्ने अवस्था यी नै कम्पनीहरूको कारण सृजना भयो । तर, उपभोक्ता ठगिए । बजारमा मानिस ओसार पसार गर्ने नाममा अर्को ठगहरूको झुण्ड तयार भएको हामीले देख्यौं र भोग्यौं ।

कि बन्द गरौं, कि फरक नम्बर प्लेट दिएर नियमन गरौं

सडकमा ट्याक्सी जसरी लामो लाइन अहिले पठाओ, इनड्राइभ लगायतको नाममा संचालित मोटरसाइकलको देख्न पाइन्छ । जबकि राइड सेयरिङको कन्सेप्ट नै सडकमा मानिस कुरेर बस्ने होइन । अनलाइन मार्फत रिक्वेस्ट एसेप्ट भएपछि मात्रै पार्किङबाट सडकमा निस्कनु पर्ने हो ।

केबल २७ किलोमिटरको चक्रपथ भएको उपत्यकामा ५० हजार मोटरसाइकल र स्कुटर प्यासेन्जर खोज्न हिँड्दा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बन्दै गएको छ । त्यही कारण हो, हिजो उपत्यकामा देखिको ट्राफिक जाम । त्यसैले सरकारले बोल्ड डिसिजन गर्ने बेला आएको छ ।

यदि, राइड सेयरिङ कम्पनीहरूलाई सेवा दिन लगाउने हो भने छुट्टै नम्बर प्लेटको व्यवस्था गरौं । होइन, कानुनी दायरमा ल्याएर यस्ता कम्पनीलाई संचालन गर्न दिन सकिँदैन भने सधैंका लागि बन्द गरौं । व्यापारको नाममा नागरिक ठगी कुनै हालतमा पनि स्वीकार्य हुँदैन ।


Back_to_top