आयो लीपमोटरको नयाँ एसयूभी, विश्व बजारमा ८ लाख युनिट बिक्री पुरा

काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल स्टार्टअप कम्पनी लीपमोटरले ८ लाख कार बिक्रीको माइलस्टोन पार गरेको छ । कम्पनीले बुधबार सी-१६ एसयूभी लन्च गरे लगत्तै उक्त संख्यामा बिक्री पुरा भएको घोषणा गरेको हो ।

गत मे महिनासम्म ७ लाख ७३ हजार २०६ युनिट भेहिकल डेलिभरी गरेको कम्पनीले जुनको १८ दिनमै २६ हजार ७९४ युनिट गाडी बिक्री गरेको देखिन्छ । सन् २०१५ मा स्थापना भएको लीपमोटरले १० वर्ष लगाएर उक्त संख्या भेटेको हो ।

सुरुवाती दिनमा खासै ठूलो संख्यामा कार बिक्री गर्न नसकेको कम्पनीले सन् २०२३ को मध्यदेखि युरोपियन ग्रुप स्टेलान्टीसलाई प्रबेश गराएको थियो । युरोपियन ग्रुपको प्रबेशसँगै कम्पनीको बिक्रीले गति लिएको हो ।

लीपमोटरले अहिले टी-०३, बी-१०, सी-०१, सी-१०, सी-११ र सी-१६ मोडलहरु उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीको प्योर इलेक्ट्रीक मोडलमा टी-०३, बी-१० र सी-१० मोडल उपलब्ध छ ।

नेपाली बजारमा साँग्रिला मोटर्सले बिक्री वितरण गर्दै आएको लीपमोटरका उत्पादन राम्रो संख्यामा बिक्री हुँदै आएको छ । कम्पनीले अहिले सी-१० एसयूभी र टी-०३ बिक्री गर्दै आएको छ । छिट्टै बी-१० एसयूभी पनि बिक्री सुरु गर्दैछ ।


Back_to_top