काठमाडौं । दैलेखमा नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याय (मिथेन) रहेको पाइएको छ ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको पेट्रोलियम पद्धार्थ अन्वेषणको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो ।
चिनियाँ कम्पनीले डेढ वर्ष लगाएर दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा ४ हजार मिटर गहिराईसम्म ड्रिलिङ गरेर पेट्रोलियम पद्धार्थको नमूना झिकेको थियो । उक्त नमूना अध्ययनपछि चिनियाँ कम्पनीले प्रतिवेदन बुझाएको हो ।
प्रारम्भिक प्रतिवेदन अनुसार दैलेखको जलजलासहित अन्य क्षेत्रमा १ अर्ब १२ कराेड घनमिटर मिथेन ग्यास रहेको छ । उक्त ग्यासले नेपाललाई ५० वर्षको माग धान्न पुग्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
चिनियाँ कम्पनीले २०२५ को डिसेम्बरसम्म पेट्रोलियम अन्वेषणको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । विस्तृत रिपोर्ट आएपछि यसको वास्तविक तथ्य बाहिर आउने छ ।
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो । विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को काम सुरु भएको थियो । गत पुसमा ४ हजार १३ मिटर ड्रिलिङ सम्पन्न भएकाे थियाे । त्यहाँ ४०० वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान छ।
मिथेन ग्यास पेट्रोल, डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । मिथेन ग्यासबाट गाडी चलाउन र बिजुली उत्पादन गर्न सकिन्छ ।
भैरवी गाउँपालिका-१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँ दरले मुआब्जा दिइ अधिग्रहण गरेको थियो ।
सरकारले आगामी आवको बजेट मार्फत देशका थप ३ स्थानमा पेट्रोलियम पद्धार्थ अन्वेषण गर्ने घोषणा गरेको छ । पाल्पा, सुनसरी र दाङमा पेट्रोलियम पद्धार्थ अन्वेषण गर्ने घोषणा गरिएको छ ।