काठमाडौं । बीवाइडीले दुई वर्षमा १० लाख युनिट बिक्री गरेको सिगल ह्याचव्याक नेपाल आउने भएको छ । कम्पनीको इन्ट्री मोडलको रुपमा बिक्री गर्दै आएको सिगलले चीन र केही अन्तर्राष्ट्रिय बजारमा मिलाएर १० लाख युनिट पुरा गरेको हो ।
बीवाइडीले यस वर्ष हुने नाइमा नेपाल मोविलिटी एक्स्पो र नाडा अटो शो दुबैमा भाग लिने भएको कारण कुनमा सिगल लन्च गर्छ एकिन जानकारी बाहिर आएको छैन । तर, गाडी ल्याएर नेपाली सडकमा परीक्षण भने गरिसकेको छ ।
चिनियाँ ईभी डाटा टेकरका अनुसार जुन पहिलो साता सिगलको बिक्री १० लाख युनिट पुगेको हो । प्योर इलेक्ट्रीक ह्याचव्याक सन् २०२३ अप्रिलमा पहिलो पटक बजारमा आएको थियो । अहिले चीनमा ८ हजार ८८० देखि १० हजार २७० अमेरिकी डलर मूल्य तोकेर बिक्री हुँदै आएको सिगल युरोपमा २३ हजार डलरसम्मको मूल्यमा बिक्री हुँदै आएको छ ।
बीवाइडी सिगलमा ३८.९ किलोवाट आवरको ब्याट्री र ५५ किलोवाटको मोटर छ । नेपाली बजारमा कुन साइजको मोटरमा उपलब्ध हुन्छ अहिल्यै एकिन साथ भन्न सकिदैन ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले सिगल ल्याउने प्रक्रिया तिब्र गतिमा अगाडि बढेको बताएको छ ।
‘हामी केही नयाँ मोडल चाडवाड अगाडि बजारमा ल्याउँदैछौं । त्यसमा सिगल लन्च गर्ने प्लानिङ हाम्रो छ । अहिल्यै धेरै कुरा बताउन कठिन होला तर, अटो शोमा सिगल आउनेछ’, साइमेक्स इंकको सीईओ सहिल श्रेष्ठले मेरोअटोसँग भने ।
ह्याचव्याक सेग्मेन्टमा डल्फीन, नामी-०१, टियागो लगायत मोडलको राम्रो बिक्री रहेको छ ।


