काठमाडौं । होन्डाले भारतमा म्याक्सी डिजाइनमा नयाँ प्रिमियम एड्भेन्चर स्कुटरको बिक्री सुरू गरेको छ ।
कम्पनीले होन्डा बिगविंग सेग्मेन्ट अन्तर्गत ७५० सीसी होन्डा एक्स एड्भेन्चर म्याक्सी स्कुटरको भारतमा बिक्री सुरू गरेको हो । यसको मूल्य १९ लाख ४ हजार रुपैयाँ अर्थात् ११ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ । यो भारतीय बजारमा पाइने दर्जनौं कारको मूल्यभन्दा पनि धेरै हो ।
पर्ल ग्लेयर र ग्रेफाइट ब्ल्याक दुई कलर अप्सनमा यो स्कुटर उपलब्ध हुनेछ । कम्पनीले यसलाई भारतमा उत्पादन नगरेर (सीबीयू) तयारी अवस्थामा आयात गरेको हो । यसकारण यसको मूल्य ११ लाख ९० हजार रुपैयाँ परेको हो ।
निकै बोल्ड, प्रिमियम, टुरिङ क्यापासिटी, अफरोड र एड्भेन्चर डिजाइनमा तयार भएको एक्स एड्भेन्चरमा ७४५ सीसी, प्यारालल ट्वीन सिलिण्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५८ ब्रेकहर्स पावर र ६९ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको डबल क्लच ट्रान्समिसन (डीसीटी) अटोमेटिक गियर सिफ्टर सिस्टम दिइएको छ । यसले स्कुटरलाई निकै स्मुद राइड प्रदान गर्नेछ ।
अफरोड र अनरोड दुवै टेरेनमा चलाउन मिल्ने यो म्याक्सी स्कुटरमा वायर स्पोक ह्वील, फ्रन्टमा डबल र रियरमा सिंगल क्यालिपर डिस्क ब्रेक, ब्रेकिङ चेसिसमा ट्युबलर स्टील फ्रेम, डबल च्यानल एबीएस, एड्जस्टेबल वीन्डस्क्रीन, फ्रन्टमा युएसडी फर्क र रियरमा प्रिलोड एड्जस्टेवल मोनोसक प्रिमियम लङ ट्राभल सस्पेन्सन सेटअप पाउन सकिन्छ ।
अत्याधिक टेक लोडेड भएको होन्डा एड्भेन्चर एक्समा पूरा एलईडी लाइट, डीआरएल, डबल हेड्ल्याम्प, आकर्षक होचो सिट डिजाइन र होन्डा रोडसिन्स सिस्टम सहितको ५ इन्चको डिजिटल टीएफटी डिस्प्ले छ । यसमा ‘टर्न बाई टर्न नेभिगेसन’, कल एसएमएस अलर्ट, म्युजिक र भ्वाइस कन्ट्रोल जस्ता राइडरलाइ आवश्यक पर्ने डिटेल्सहरू हेर्न सकिने छ ।
त्यसैगरी, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी) टेक्नोलोजी, २२ लिटरको अन्डर सिट स्टोरेज, टाइप सी यूएसबी चार्जिङ पोर्ट, स्ट्यान्डर्ड, स्पार्ट, रेन र ग्राभेल गरी चार प्रिसेट राइडिङ मोडहरू, राइड बाई वायर थ्रोटल जस्ता अत्याधुनिक फिचरहरू एड्भेन्चर एक्स स्कुटरमा समावेश छन् ।

