काठमाडौं । अहिले बजारमा दर्जनौं मोडलका ईभीहरू किन्न पाइन्छ । ईभीको बिक्री बढेसँगै पेट्रोल कारको बिक्रीमा उच्च गिरावट आयो । सन् २०२१ सम्म ९५ प्रतिशत पेट्रोल कार बिक्री हुने बजारमा अहिले ३० प्रतिशत मात्रै पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री हुन्छ ।
घट्दो पेट्रोल कारको बिक्रीमा कम्पनीहरूले ठोस रणनीति बनाउन सकेनन् । त्यसैले घट्दो बिक्रीसँगै पेट्रोल कार बिक्रेतामा अलमल देखियो । त्यसका बाबजुद सुजुकी, महिन्द्रा, हुन्डाई, किया, टोयोटा, निसान जस्ता ब्राण्डहरू पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्रीमै केन्द्रीत भए ।
वार्षिक ४ हजार हाराहारीको पेट्रोल कारको बजारमा अहिले चल्तीका मोडल भनेकै हुन्डाई क्रेटा, भेन्यु, मारुती सुजुकी ब्रेजा, निसान म्याग्नाइट, महिन्द्रा स्कर्पियो जस्ता मोडल हुन् । कुनै समय निकै चल्तीमा रहेका स्वीफ्ट, ग्राण्ड आई १०, सेलेरियो जस्ता मोडलको बिक्री निकै फिक्का छन् ।
त्यसैले अहिले ३० लाखदेखि ८० लाख रुपैयाँ भित्र किन्न पाइने पेट्रोल कार मध्ये चल्तीमा रहेका ३ मोडलका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
३. निसान म्याग्नाइट
कम बजेटमा पेट्रोल एसयूभी किन्छु भन्ने योजना बनाएर बसेका मानिसले म्याग्नाइटको मूल्यले आकर्षित गर्छ । अहिले ३४ लाखदेखि ४० लाख रुपैयाँसम्म मूल्य पर्ने म्याग्नाइटको बिक्री निकै राम्रो देखिन्छ । निसानको ब्राण्ड नेम र फिचर लोडेड भएर आएको कारण पनि म्याग्नाइटमा धेरैको आकर्षण रहेको हो ।

नयाँ म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश छन् । यसको टप भेरियन्टमा हिट गार्डसहितको प्रिमियम सिट, मेमोरी फङ्सनसहितको मल्टी कलर एम्बिएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ ।
निसानले म्याग्नाइटमा ६० मिटर परबाटै रिमोटको सहायतामा इन्जिन स्टार्ट गर्न सकिने नयाँ ग्लोबल स्मार्ट की उपलब्ध गराएको छ । नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टच स्क्रीन दिइएको छ । वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउण्ड सिस्टम र क्रुज कन्ट्रोल जस्ता फिचर यसमा छन् ।
म्याग्नाइट एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली रहेको कम्पनीको दाबी छ । प्रतिलिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने म्याग्नाइट एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गर्छ ।
निसानको स्पोट्र्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाइटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिङ सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । १.० नेचुरल्ली एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध म्याग्नाइटमा ५ स्पीड गियरबक्स छ ।
२. सुजुकी ब्रेजा
मूल्यका हिसाबले ४५ लाखदेखि ५५ लाख भित्रको पेट्रोल एसयूभी किन्नेले ब्रेजा छानिरहेको देखिन्छ । सुजुकी ब्रेजा चार मिटरभन्दा केही छोटो साइजमा उपलब्ध पावरफुल एसयूभी हो । यसमा १.५ लिटर क्षमताको इन्जिन दिइएको छ । अहिले चार मिटरभन्दा छोटो एसयूभीमा १.० र १.२ लिटर इन्जिन धेरै प्रयोग हुने भए पनि सुजुकीले १.५ लिटर इन्जिन दिएको हो ।

नेपालमा निकै सफल मानिएको ब्रेजा सुरूमा डिजेल इन्जिनमा मात्रै उपलब्ध थियो । सन् २०२० पछि पेट्रोल इन्जिनमा मात्रै उपलब्ध ब्रेजा कुनै समय नेपालमा वार्षिक २ हजार युनिटभन्दा बढी बिक्री भएको थियो ।
भारतमा सन् २०२२ मा ब्रेजाको सेकेण्ड जेनेरेशन मोडल लन्च भएको थियो । नेपाली बजारमा भने निकै ढिलो गरी आएको नयाँ जेनरेशन ब्रेजाले राम्रो व्यापार गरिरहेको छ ।
अत्याधुनिक फिचर उपलब्ध ब्रेजा बल्की लुक्स र बक्सी डिजाइनमा छ । १६ इन्चको अलोय ह्वील, इलेक्ट्रीक सनरुफ तथा सार्कफिन एन्टेन यसमा पाउन सकिन्छ । इन्टेरियरमा फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, टेलिस्कोपिक एड्जस्टमेन्ट गर्न सकिने नयाँ डिजाइनको स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायलेस चार्जिङ डक, एम्बियन्ट लाइट, रियर एसी भेन्ट, हेडअप डिस्प्ले जस्ता फिचरले यसलाई बलियो बनाएको छ ।
सुरक्षाका लागि यो एसयूभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा दिइएको छ ।
१. हुन्डाई क्रेटा
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा एकछत्र राज गरिरहेको क्रेटा ५५ लाखदेखि ७८ लाख रुपैयाँ भित्रको पेट्रोल एसयूभी किन्नेको पहिलो रोजाइ बन्दै आएको छ । नेपाली बजारमा आएको झण्डै एक दशक भएको क्रेटाको क्रेज निरन्तर उस्तै छ ।

गत वर्ष साउनबाट नयाँ फेसलिफ्ट क्रेटा नेपाली बजारमा उपलब्ध भएदेखि नै राम्रो संख्यामा बिक्री पाउन सफल हुँदै आएको छ । अहिले पनि सर्वाधिक बिक्री हुने पेट्रोल एसयूभी क्रेटा नै हो । यसमा १.५ लिटर क्षमताको इन्जिन छ ।
क्रेटा अहिले पेट्रोलसँगै ईभीमा पनि उपलब्ध भएको छ । तर, यसको पेट्रोल भर्सन नेपालमै एसेम्बल हुने भएको कारण मूल्यमा फाइदा उपभोक्ताले पाएका छन् । क्रेटा पेट्रोल मोडलको अगाडिको लुक्स, पछाडिको डिजाइन र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेको पाइन्छ ।
अगाडि एल आकारको एलईडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटले यसलाई अलग बनाएको छ ।
क्रेटामा उपलब्ध एडास फिचर भित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता चालकलाई सहज बनाउने फिचर छन् ।
यसको ड्यासबोर्ड पूर्णतः नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुवै स्क्रीन समान १०.२५ इन्चका छन् ।


