काठमाडौं । सरकारले रसुवागढी नाका संचालनमा ल्याउन चीनलाई आग्रह गर्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकले रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरी पुल बनाउन र चीनतर्फको बाटो पुनर्निर्माण गरी केरुङ नाका संचालनमा ल्याउन चीनसँग समन्वय गर्ने निर्णय गरेको हो ।
मंगलबार बिहान ल्हेन्दे खोलामा आएको बाढीले चीन नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्किएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बैठकमा मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो सञ्चालनमा ल्याउन परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गरिने बताए ।
त्यस्तै, बैठकले सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिनुका साथै चीनसँगका वैकल्पिक नाका सञ्चालन निम्ति आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीमा भएको क्षतिको बीमा लगायत अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

