काठमाडौं । फुलचार्जमा १२०५ किलोमिटर गुडेर लुसिड एयर ईभीले गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छ । लुसिड मोटरको प्रिमियम सेडान कारको ग्राण्ड टुरिङ भेरियन्टले उक्त रेन्ज दिएको हो ।
यसअघि सिंगल चार्जमा १ हजार ४५ किलोमिटर रेन्जको आफ्नै रेकर्डलाई लुसिड एयरले १६० किलोमिटर बढी गुडेर थप बलियो बनाएको हो । रेकर्ड बनाउने क्रममा लुसिडको यात्रा स्वीट्जरल्याण्डको सेन्ट मोरिट्जबाट सुरू भएर जर्मनीको म्युनिखमा समापन भएको थियो ।
गाडी गुडाइएको सडक विविधता पूर्ण थियो । जंगल, समथर र राजमार्गहरूको प्रयोग भएको थियो । सम्पूर्ण यात्रालाई आधिकारिक रूपमा गिनिज वर्ल्ड रेकर्डको टोलीले अनुगमन र प्रमाणित गरेका थिए ।
लुसिडले बिक्री गर्दै आएको चार मोडेल मध्ये एक लुसिड एयर ग्राण्ड टुरिङमा कम्पनीले आफैंले विकास गरेको मोटर लगायतका कम्पोनेन्टहरू प्रयोग गरेको छ । यी प्रणालीहरू कम्प्याक्ट र हल्का तौलको लागि डिजाइन गरिएका छन् । जसले सानो ब्याट्रीबाट ठूलो रेन्ज दिन्छ ।
लुसिड एयर ग्राण्ड टुरिङमा ११८ किलोवाट आवरको ब्याट्री छ । त्यही ब्याट्रीले १२०५ किलोमिटर रेन्ज दिएको हो । लुसिड एयर ईभीलाई डीसी फास्ट चार्जरबाट जम्मा २१ मिनेटमा ४८० किलोमिटर रेन्ज थप गर्न सकिन्छ ।

यसमा मोटर पनि निकै ठूलो प्रयोग भएको छ । अल ह्वील ड्राइभ सिस्टमको साथ आउने लुसिड एयरमा ६१० हर्षपावर दिने मोटर छ । यसले ३ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ । यसको टप स्पीड क्षमता २७० किलोमिटर प्रतिघण्टासम्म छ ।
लुसिड मोटर्सले आफ्नो सामाजिक सञ्जालहरूमा गिनिस वर्ल्ड रेकर्डको उपलब्धी सार्वजनिक गर्दै भोलिका दिनमा विद्युतीय सवारी साधनको प्रविधि विकासमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएको छ ।
सिलिकन भ्यालीमा मुख्यालय रहेको लुसिडको एरिजोनामा भर्टिकल इन्ट्रिग्रेटेड प्लाण्ट छ । अहिले कम्पनीले लुसिड एयर सेडान र लुसिड ग्राभिटी एसयूभी बिक्री गर्दै आएको छ । दुवै मोडल हाइ पर्फमेन्स, प्रिमियम डिजाइन र एड्भान्स इनर्जी इफिसियन्सी भएका छन् ।

