काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दैनिक १ हजार ६२० रुपैयाँ किस्ता तिर्नेगरी क्रेटा ईभी किन्न पाइने स्कीम ल्याएको हो ।
केही महिना अगाडि मात्रै नेपाली बजारमा उपलब्ध भएको हुन्डाई क्रेटाको विभिन्न ४ भेरियन्टमा उपलब्ध छ । क्रेटा ईभीको एजुकेटीभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्ट भेरियन्टको ५४ लाख ९६ हजार, स्मार्ट (अप्सनल)को ५६ लाख ९६ हजार र प्रिमियम प्लस भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ । कम्पनीले दैनिक १६२० रुपैयाँको स्कीम चलाएको भेरियन्ट एजुकेटीभ हो ।
एजुकेटीभ भेरियन्ट क्रेटा ईभी किन्दा मूल्यको ४० प्रतिशतले हुन आउने २० लाख ७८ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट वापत सुरुमै तिर्नु पर्ने हुन्छ । डाउन पेमेन्ट बाहेकको ३१ लाख १७ हजार ६०० रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिन सकिन्छ ।
यसरी लिएको कर्जा ७ वर्षसम्म फिक्स ७.९९ प्रतिशतको ब्याजदरमा लिँदा मासिक ४८ हजार ५७६ रुपैयाँ किस्ता तिर्नुपर्छ । उक्त रकमलाई दैनिक खर्चमा राखेर हेर्दा हरेक दिन १ हजार ६२० रुपैयाँ तिर्दा पुग्छ ।
हुन्डाई क्रेटा ईभी मार्च महिनाबाट बजारमा आएको थियो । निकै सफल क्रेटा एसयूभीको इलेक्ट्रीक भर्सनमा उपलब्ध गाडीमा ४२ किलोवाट आवरको एनसीएम ब्याट्री दिइएको छ । त्यसैगरी यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।


