कलंकी-बसुन्धरा सडकको सर्भे सकियो, माछापोखरीमा फ्लाइओभर बनाइने

फाइल तस्बिर । चीन सरकारले अनुदानमा बनाइदिएको चक्रपथको पहिलो खण्ड कोटेश्वर-कलंकी सडक ।

काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्ड (कलंकी-बसुन्धरा) खण्डको सर्भे सकिएको छ । गत वैशाखमा नेपाल आएका चिनियाँ प्राविधिकहरूले ८.२ किलोमिटर लामो कलंकी-बसुन्धरा सडक खण्डको सर्भे सकेका हुन् ।

चीनबाट आएका १८ जना प्राविधिकले झण्डै २ महिना लगाएर यस सडकको सर्भे गरेका हुन् । चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङका प्राविधिक फिल्डमा खटेर सर्भे गरेका हुन् ।

काठमाडौं चक्रपथ सुधार योजनका प्रमुख (सीडीई) कृष्णनाथ ओझाले चिनियाँ प्राविधिकले कलंकी-बसुन्धरा सडक खण्डको फिल्ड सर्भे सकाएको बताए । सर्भे सकिएसँगै उनीहरूले डिजाइनको काम सुरू गरिसकेको जानकारी आएको उनले बताए ।

‘कलंकी–बसुन्धरा खण्ड चीन सरकारले अनुदानमा बनाइदिने हो । सर्भेका लागि चिनियाँ प्राविधिक गत वैशाखमा नेपाल आएका थिए । गत साता सर्भे सकाएका हुन्,’ उनले मेरोअटोसँग भने, ‘सर्भे सकिएसँगै चिनियाँले डिजाइनको काम पनि सुरू गरिसकेको जानकारी दिएका छन् ।’

चिनियाँले चीनमै बसेर यस सडकको डिजाइन गर्ने छन् । ३ महिना भित्रै डिजाइनको रिपोर्ट आउने उनले बताए । डिजाइन सकिएपछि भेरिफिकेसनका लागि नेपाल सरकारलाई बु्झाउने उनले बताए ।

‘सर्भे सकिएसँगै चिनियाँ टोली फर्किएको छ । अब उतै बसेर डिजाइन गर्नेछन् र भेरिफिकेसनका लागि नेपाललाई बुझाउने छन्,’ उनले भने, ‘३ महिना भित्रै डिजाइन सम्पन्न हुने बताएका छन् । असोजसम्म आइपुग्ला ।’

 

सांकेतिक तस्बिर

सडक विभागबाट डिजाइन स्वीकृति भएपछि निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढ्ने उनले बताए । अनुदानमा बनाइ दिने भएकाले निर्माण कम्पनी चीन सरकार आफैंले छनोट गर्ने उनले बताए । ‘यो सडक चीन सरकारले बनाइदिने भएकाले सबै काम उसैले गर्छ । सर्भे, डिजाइन, निर्माण कम्पनी छनोट, निर्माण कार्य सबै चीनले गर्ने हो,’ उनले भने, ‘हामीले समन्वय र सहजीकरण मात्रै गर्ने हो ।’ फाइनल डिजाइन तयार भएपछि लागत थाहा हुनेछ ।

माछापोखरी चोकमा फ्लाइओभर निर्माण हुने

यस खण्डको माछापोखरी चोकमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव गरिएको छ । चिनियाँहरूले ट्राफिक जाम धेरै हुने भएकाले माछापोखरीमा फ्लाइओभर निर्माण गर्ने गरी सर्भे गरेको योजना प्रमुख ओझाले बताए ।

‘चिनियाँले यस खण्डको सबैभन्दा धेरै जाम हुने माछापोखरी र गोंगबु चोक समेटी फ्लाइओभर निर्माण गर्ने गरी सेर्भ गरेका छन् । सोही अनुसार डिजाइन बनाउँछन् होला,’ उनले भने । त्यस्तै, वनस्थली नजिकको ढुंगेधारामा कल्भर्टको ठाउँमा पुल बनाउन प्रस्ताव गरिएको बताइएको छ ।

८.२ किमी लामो यस खण्ड सर्भिस लेन बाहेक ८ लेनको हुनेछ । पहिलोखण्ड कोटेश्वर–कलंकीमा भएको त्रुटी सुधार गरेर डिजाइन गरिने छ । आवश्यकता अनुसार चोकहरूमा क्रसिङ पोइन्ट, क्रस–सेक्सन, पुल र कल्भर्ट लगायत निर्माण हुनेछ ।

सर्भिस ट्रयाक निर्माण ७० प्रतिशत सकियो

नेपाल-चीन बीच भएको सम्झौता अनुसार यस खण्डको मुख्य सडक (८ लेन) चीनले निर्माण गर्नेछ भने सर्भिस ट्रयाक नेपालले नै बनाउनुपर्नेछ ।

चिनियाँ टोली नआएपछि नेपालको तर्फबाट गत वर्षदेखि नै सर्भिस ट्रयाक निर्माण थालिएको थियो । हालसम्म सर्भिस ट्रयाक निर्माणको काम ७० प्रतिशत सकिएको उनले बताए ।


Back_to_top