काठमाडौं । सरकारले ‘रिभर व्यूटीफिकेसन पार्क’ निर्माण गर्ने काम अगाडि बढाई रहेको छ । झण्डै १ अर्ब ६० करोड रुपैयाँको लगानीमा ब्यूटीफिकेशन पार्क बनाउने योजना अगाडि ल्याएको हो ।
काठमाडौंको गोकर्णदेखि गुहेश्वरीसम्म अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सरकारले करिडोर निर्माणसँगै ब्यूटी पार्क निर्माणको काम सुरु गरेको हो ।
सन् २०१६ मा उक्त योजना अन्तर्गत ब्यूटीफिकेशन पार्क निर्माणको काम कालिका कन्ट्रक्सनले ठेक्का लिएको हो ।
कालिकाले सन् २०१९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ब्यूटीपार्क निर्माणको काम ठेक्का लिएको समितिका उप–आयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।
उनका अनुसार हालसम्म लक्ष्यको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । पुर्वाधार तथा अन्य निर्माणको काम अहिलेपनि चालु रहेको उनले बताए ।
बाग्मती करिडोरको २० मटिर चौडाई मध्य सडकमा १० मिटरमा करिडोर निर्माण गरिएको छ भने, १० मिटरमा व्यूटी पार्क निर्माण गर्दै लैजाने उनले बताए । पार्कमा फुटपाथ, साइकल ट्रयाक, वाउन्ड्री वाल लगायतका पुर्वाधारहरुको निर्माण गरिने छ ।
गोकर्णदेखि गुहेश्वरी सडकखण्डको ७ किलोमिटर सडकमा पहिलो चरणमा ब्यूटी पार्क निर्माण भइरहेको छ ।
अहिले केही जमिन अधिग्रहणका लागि मुआब्जा वितरण गर्नु पर्ने भएकाले काम रोकिएको चित्रकारले जानकारी दिए ।
‘हाल त्यो काम मुआब्जाका कारण रोकिएको छ, मुआब्जाका लागि सरकारसँग पहल गरिरहेका छौँ,’ चित्रकारले भने ।
करिडोर र खोलाको विचमा हुने खाली ठाउँलाई पार्कको रुपमा निर्माण गरिने छ ।
मुआब्जाका कारण काम रोक्नु नपरे २ महिना भित्र काम सम्पन्न हुने उनको दाबी छ ।
‘मुआब्जा दिने प्रकृया टुंगाउन समय लाग्ने भएकाले काम फेरी कहिले सुरु हुन्छ थाहा छैन । सरकारले मुआब्जा सम्बन्धी काम सक्ना साथ हामी कामलाई निरन्तरता दिने छौँ,’ चित्रकारले मेरोअटोसँग भने ।

