काठमाडौं । न्यू इनर्जी भेहिकलको बढ्दो बिक्रीसँगै विश्वकै सबैभन्दा ठूलो कार बजारको रूपमा चिनिएको चीन सबैभन्दा ठूलो कार निर्माता पनि भएको छ । चीनमा वार्षिक २ करोड ३० लाख युनिट हाराहारी कार बिक्री हुन्छ ।
चीनसँग अहिले वार्षिक ५ करोड ५५ लाख युनिट सबै किसिमका कार उत्पादन गर्ने क्षमता छ । तर, जडित क्षमताको ७० प्रतिशतसम्म उत्पादन भइरहेको छ । चीन सरकारले अटोमोबाइल उद्योगलाई आफ्नो प्रतिष्ठाको क्षेत्र बनाउँदै अर्बौं डलर वार्षिक अनुदान दिन थालेसँगै युरोपियन कार निर्माता झस्किए ।
त्यसैले यहाँ चिनियाँ कार उद्योगको विश्वव्यापी प्रभाव र त्यसले युरोपियन कार निर्माताहरूलाई पारेको असरका विषयमा यहाँ चर्चा गरिएको छ । खासगरी, चिनियाँ कारको विश्वव्यापी विस्तारले नै अमेरिकीदेखि युरोपियन र जापानी कार उत्पादकलाई अफ्ठेरो पारेको हो ।
जापानमा रहेका निसानदेखि युरोपको फक्सवागेनसम्म अहिले चिनियाँ कार उत्पादकसँग कसरी प्रतिस्पर्धा गर्ने भनेर उपाय खोज्दैछन् । चीन न्यू इनर्जी भेहिकलको सबैभन्दा ठूलो बजार हो । यहाँ विश्वभर बिक्री हुने ईभीको ६० प्रतिशतभन्दा बढी बिक्री हुन्छ । जब ईभी उत्पादनको लागि चाहिने अन्य कम्पोनेन्टको कुरा आउँछ, त्यसमा त चीन अझै अगाडि छ ।
चिनियाँ कम्पनीहरूले ब्याट्री उत्पादन र टेक्नोलोजीमा निकै फड्को मारे । सफ्टवेयर उत्पादन, ब्याट्री मेनेजमेन्ट सिस्टमको विकास र सुरक्षासँग जोडिएका टेक्नोलोजी विकासमा पनि चिनियाँ कम्पनी निकै अगाडि पुगे ।
जापानलाई उछिन्दै चीन विश्वकै ठूलो कार निर्यातकर्ता देश बनेको छ । चिनियाँ कम्पनीहरू चेरी, एमजी, बीवाइडी, जिली, चांगान, एनआइओ र एक्सपेङ जस्ता ब्राण्ड तीव्र निर्यात वृद्धि गर्दै आएका कम्पनी हुन् । यी ब्राण्डले हरेक वर्ष युरोपमा आफ्नो बिक्री बढाउँदै लगेका छन् । त्यसले पनि युरोपियन देशहरूलाई चिन्तित बनाएको हुन सक्छ । अझ कम मूल्यका एमजी–फोर र बीवाइडी डल्फिन जस्ता साना कारको बिक्री अकल्पनीय रूपमा बढेको युरोपियन युनियनको रिपोर्टमा उल्लेख छ । त्यसैले चिनियाँ कारहरूलाई युरोपमा उच्च कार सामना गरिरहनुपरेको छ ।

सन् २०२४ मा युरोपको बजारमा चीनमा निर्मित कार २२ प्रतिशत बिक्री भएका थिए । जसको दुई तिहाई उत्पादन युरोपकै ब्राण्डहरू र अमेरिकी ब्राण्ड टेस्लाले चीनमा बनाएका कार थिए । युरोपको कुल बिक्रीमा चिनियाँ ब्राण्डको हिस्सा ५ प्रतिशत पुगेको छ ।
चिनियाँ कार युरोपमा तीव्र विस्तार हुँदै गएको छ । त्यसको प्रमुख कारण श्रम लागत कम हुनु, ठूलो परिमाणमा उत्पादन गर्नु र ब्याट्री चीनमै बन्नु रहेको छ । त्यसैले चीनमा बनेका युरोपियन कारको तुलनामा ३० प्रतिशत कम लागतमा तयार हुन्छन् ।
युरोपले चिनियाँ उत्पादनमा ३५ प्रतिशतसम्म कर लगाएसँगै कार निर्माताहरूले त्यसलाई छल्न हंगेरी, पोल्याण्ड, टर्की र स्कटल्याण्ड जस्ता देशमा प्लाण्ट बनाइरहेका छन् । यहाँ रमाइलो कुरा के छ भने चिनियाँ कारको विस्तार कै कारण युरोपियन कार निर्माताहरूले सन् २०३० सम्ममा वार्षिक नाफा ७ अर्ब युरो गुमाउने छन् । यसको सिधा असर जर्मनी, स्लोभाकिया र चेक गणतन्त्र जस्ता देशको जीडीपी ०.३ देखि ०.४ प्रतिशतसम्मले गिरावट आउने छ ।
चीनमा निर्मित कारको व्यापार फस्टाउँदै जाँदा युरोपियन निर्माताहरू प्लाण्ट बन्द गर्न र १० प्रतिशत तलब कटौती गर्नु पर्ने अवस्थामा आउन बाध्य हुने देखिन्छ । त्यति मात्रै होइन युरोपियन ब्राण्डले चीनमा नै आफ्नो ठूलो हिस्सा गुमाउने छन् ।
युरोपियन युनियनले चिनियाँ ब्राण्डहरूलाई लगाएको अतिरिक्त करको विरोध युरोपियन कार निर्माताहरूले गर्न थालेका छन् । सरकारहरू चिनियाँ उत्पादनको प्रयोग कम गराउने राणनीति लिइरहेको समयमा कार उत्पादकहरू चिनियाँ स्टार्टअप कम्पनीहरूसँग सहकार्य गर्ने रणनीतिमा देखिन्छ । त्यसैले युरोपकै ठूलो ग्रुप फक्सवागेनले एक्सपेङ ब्राण्डसँग साझेदारी थालेको छ । अर्को युरोपकै ठूलो ग्रुप स्टेलान्टिसले लीपमोटरको हिस्सा खरिद गरिसकेको छ । कम्पनीहरू ‘रिभर्स जोइन्ट भेन्चर’ मोडल अपनाएर चिनियाँ प्रविधिको फाइदा उठाउन चाहन्छन् ।


