एक्सपल्सको सफलतासँग जोडिएका ५ तथ्य, मूल्यको कारण थप बलियो

काठमाडौं । कुनै समय नेपाली बजारमा हिरो होन्डाका मोटरसाइकलको राज थियो । हिरो र होन्डा छुटिएपछि नेपालमा पनि दुई अलगै डिलर चल्यो ।

हिरो र होन्डा अलग भएपछि नेपालमा होन्डाको व्यापार झनै बढ्दै गयो । होन्डाको तुलनामा बिक्री बढ्न नसके पनि हिरो पनि स्कुटर र साना मोटरसाइकलको बलमा राम्रै संख्या निकालिरहेको थियो ।

पछिल्लो ५ वर्षमा मोटरसाइकलको बजारले अलगै बहाव लियो । पहिले जस्तो स्कुटर र साना सीसीका मोटरसाइकल मात्र भएर व्यापार नबढ्ने अवस्था आयो ।

नेपालमा हिरोका मोटरसाइकलले बजार गुमाउँदै जाँदा हिरोले एक्सपल्स २०० मोटरसाइकल भारतमा सार्वजनिक भयो । त्यसको केही महिनापछि नेपाली बजारमा पनि एक्सपल्स बिक्री सुरू भयो । कमजोर बन्दै गएको हिरोको बजार हिस्सामा एक्सपल्स २०० आएसँगै फेरि बढोत्तरी देखियो ।

हिरोको डिलर अहिले सिजी मोटर्ससँग छ । २०० सीसी डबल पसर्स मोटरसाइकल सेग्मेन्टमा एक्सपल्सले राज नै गरिरहेको देखिन्छ । हिरो एक्सपल्स २०० को सफलतासँग जोडिएका केही विषय हामीले यहाँ चर्चा गरेका छौं ।

टुरिङ कल्चर

एड्भेन्चर टूरिङको कल्चर नेपालमा बढ्दै गएको समयमा नेपाल आएको एक्सपल्स २०० मोटरसाइकले राम्रो बजार पाएको हो । अफरोड टूरिङ गर्नेहरुको रोजाइमा पर्दा एक्सपल्स मोटरसाइकल निकै सफल भएको मान्न सकिन्छ ।

डबल पर्पस डिजाइन

डबल पर्पस डिजाइन यसको सफलताको अर्को मुख्य कारण हो । सहरी क्षेत्रमा होस् या अफरोड यात्रा गर्नेको रोजाइमा एक्सपल्सले अलग पहिचान बनायो । त्यही कारण यसको बिक्री प्रतिस्पर्धीहरुभन्दा निकै धेरै भयो ।

मूल्य

एक्सपल्सको सफलतासँग जोडिएको मुख्य विषय यसको मूल्य पनि हो । एक्सपल्स २०० मोटरसाइकल सुरुमा नेपाल आउँदा बजारमा यामाहाको एक्सटीजेड १५०, होन्डा एक्सआर १५०/१९० उपलब्ध थिए । यामाहा र होन्डाका मोटरसाइकल हिरोको तुलनामा निकै महँगा थिए । त्यसको फाइदा ४ लाख ५० हजार रुपैयाँमै सार्वजनिक भएसँगै एक्सपल्स २०० ले पायो । अहिले पनि एक्सपल्सको टप भेरियन्ट ५ लाख मूल्यमै आउँछ ।

कम खर्च

हिरोका मोटरसाइकल कम संचालन खर्च र धेरै माइलेज दिनेमा पर्छन् । एक्सपल्स २०० को केही पार्टस बाहेक धेरै पार्टस् निकै सस्तो छ । कम संचालन खर्च र यसको ३५ किलोमिटर हाराहारीको माइलेजले पनि यसलाई सफल मोडलको रुपमा उभ्याएको हो ।

कम्फर्ट

डबल पर्पस डिजाइनमा भएको कारण यो मोटरसाइकल अफरोड वा अनरोड दुबैमा आरामदायी यात्रा गराउन सफल छ । अपराइट ह्याण्डल, कम तौल, डबल पर्पस टायर भएका कारण यो मोटरसाइकल निकै सफल छ ।

नेपालमा धरासायी भइसकेको ब्रान्ड जोगाउने क्षमता भएको यो मोटरसाइकलमा केही कमजोरी भने पक्कै छ ।

सुरूवातमा आएको एक्सपल्स २०० मोटरसाइकलको इन्जिनमै समस्या देखियो, सस्पेन्समा निकै खराबी थियो । पछि कम्पनीले अपग्रेडेड एक्सपल्स २०० फोर भी सार्वजनिक गरेपछि ती समस्या समाधान भएका छन् ।


Back_to_top