काठमाडौं । चिनियाँ स्टार्टअप कार निर्माता कम्पनी एक्सपेङले आफ्नो सफल मोडल जी-सिक्सलाई नयाँ पावरट्रेनको साथ बजारमा उतार्ने भएको छ । प्योर इलेक्ट्रीक मोडलमा उपलब्ध एक्सपेङ जी-सिक्सको इआरईभीमा पनि उपलब्ध हुने भएको हो ।
कम्पनीले यसको आधिकारिक विवरण बाहिर ल्याएको छैन । तर, अहिले पूर्ण रूपमा ढाकेर चीनमा परीक्षण भइरहेको एक्सपेङ जी-सिक्समा प्रयोग गरिएको एग्जस्ट पाइपले नयाँ पावरट्रेनमा आउन लागेको कुरा पुष्टि गर्छ ।

चिनियाँ मिडियाहरूले प्रकाशित गरेको समाचारका अनुसार ईआरईभीमा आउने जी-सिक्स मोडलले १४०० किलोमिटर रेन्ज प्रदान गर्नेछ । अहिलेसम्म ब्याट्री इलेक्ट्रीक भेहिकल मात्रै बनाउँदै आएको एक्सपेङको नयाँ ‘मुभ’लाई धेरैले चासोको साथ हेरेका छन् ।
एक्सपेङ जी-सिक्स नेपालमा पनि बिक्री हुँदै आएको मोडल हो । नेपाल आएको झण्डै एक वर्षको अवधिमा यसले सन्तुष्ट ग्राहकको संख्या थप्दै लगेको छ । कम्पनीले गत मार्च महिनामा जी-सिक्स मोडलको २०२५ भर्सन सार्वजनिक गरेको थियो । नयाँ भर्सन भने नेपाल आएको छैन । नयाँ एलएफपी ब्याट्रीको साथ सार्वजनिक भएको अपग्रेड भर्सनले १२.५ किलोवाट आवर ब्याट्रीमा १०० किलोमिटर यात्रा गर्न सक्नेछ ।
नयाँ ईआरईभी मोडलमा प्रयोग हुने ब्याट्री र इन्जिन क्षमताको विषयमा केही खुलाइको छैन ।
यसको २०२५ ब्याट्री इलेक्ट्रीक मोडलमा भने ‘फाइभ सी’मा आधारित एआई ब्याट्रीको प्रयोग भएको छ । यसलाई पावरफुल डिसी चार्जरमा १० मिनेट चार्ज गर्दा ४५० किलोमिटर गुड्न पुग्ने इनर्जी थप हुने कम्पनीको दाबी छ ।
सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको एक्सपेङ जी-सिक्सको अपग्रेड गरिएको मोडलमा सुरक्षा फिचरमा पनि व्यापक सुधार गरिएको छ । तर, नयाँ मोडल कहिलेसम्म नेपाल आउने छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी बाहिर ल्याएको छैन ।
ईआरईभी भने नेपालको लागि तत्काललाई फाइदाजनक हुने देखिँदैन । नेपाल सरकारले ईभी दिएको छुट हाइब्रिड मोडलमा उपलब्ध गराएको छैन । तर, विश्वका धेरै देशले हाइब्रिडलाई पनि ईभी जस्तै अनुदान दिदै आएका छन् । अनुदान नहुँदा नेपालमा हाइब्रिड भेहिकल निकै महँगो पर्न जान्छ ।


