काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं/तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को १ वर्षमा थप पौने ७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको गत आर्थिक वर्ष २०८१/८२ मा थप ६.७५ प्रतिशत भौतिक प्रगति भएको हो ।
नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले २०८२ असार मसान्तसम्म फास्ट ट्रयाकको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको जानकारी दिए । २०८१ असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ३५.३८ प्रतिशत थियो ।
त्यस्तै, आयोजनाको समग्र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ । गत वर्ष साढे २२ अर्ब बजेट छुट्याइएकोमा १३ अर्ब ४६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । असार मसान्तसम्म आयोजनामा समष्टिगत कुल ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भएको उनले बताए । सोमध्ये १ अर्ब ५६ करोड जग्गा खरिद, ८२.३७ करोड निर्माण व्यवसायी र ९.८१ करोड विद्युत् प्राधिकरणलाई पेश्की दिइएको छ ।
बजेटका आधारमा फास्ट ट्रयाक हाल निर्माणाधीन मध्ये सबैभन्दा ठूलो आयोजना हो । सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेको छ । तर, प्रगति भने निकै सुस्त छ ।
६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने २०७४ देखि सुरू गरिएको यस आयोजनाको ८ वर्षमा आधा पनि काम पूरा नभएको हो । हालसम्म औसतमा वार्षिक भौतिक प्रगति ५.२६ प्रतिशत मात्रै छ । तोकिएको समय २०८३ चैत भित्रै आयोजना सम्पन्न गर्न अब २० महिनामा बाँकी ५८ प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । जुन असम्भव जस्तै देखिन्छ । यद्यपि, सेनाले भने लक्ष्य अनुसार नै काम सम्पन्न हुने विश्वास राखेको छ । निर्माणाधीन सुरूङमार्ग र पुल निर्माण सम्पन्न भएपछि भौतिक प्रगति ह्वात्तै बढ्ने सेनाको भनाइ छ ।

समय लम्बिँदै जाँदा आयोजनाको लाग पनि थपिएको छ । आयोजनाको सुरूआती लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा हाल बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकलाई आयोजनालाई विभिन्न १३ वटा प्योकजमा छुट्याइएको छ । १२ प्याकेजको ठेक्का लागेर धमाधम काम भइरहेको छ । प्रस्थान बिन्दु खोकना-डुकुछाप (प्याकेज नं. ११) खण्डको ठेक्का लाग्न बाँकी छ ।
५ किमी सर्भिस लेन कालोपत्र
सूचना अधिकारी बस्नेतका अनुसार फास्ट ट्रयाकमा कालोपत्रको काम पनि सुरू भएको छ । उनका अनुसार असारसम्म ५ किलोमिटर सर्भिस लेन कालोपत्र गरिएको छ । प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको राजदमह क्षेत्रमा सर्भिस लेन कालोपत्र गरिएको हो ।
त्यस्तै, ९.३ किमी सडकमा सबबेस राखिएको उनले बताए । प्याकेज नं. ३ र ५ को निजगढ क्षेत्रमा सबबेस राखिएको हो । बाराको निजगढ क्षेत्रमा एनिमल अण्डरपासको सबस्ट्रक्चर, टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको उनले जानकारी दिए । फास्ट ट्रयाकको बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इनटरचेञ्ज र ट्रोल प्लाजा निर्माण गरिनेछ ।
अन्य क्षेत्रमा पनि स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट, इलेक्ट्रीफिकेसन डक्ट निर्माण लगायत काम पनि सँगसँग भइरहेको छ ।
दुइटा सुरूङ ब्रेक थ्रु, ५ वटा धमाधम खन्दै
फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरूङ निर्माण हुने छन् । तीमध्ये हालसम्म दुई वटा ब्रेक थ्रु भइसकेको छ । सूचना अधिकारी बस्नेतका अनुसार हालसम्म लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरूङ ब्रेक थ्रु भइसकेको छ ।

त्यस्तै, ३३५५ मिटर लामो महादेवटार सुरूङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । महादेवटारको दायाँतर्फको २०२९ मिटर र बाँयातर्फ २२८८ मिटर सुरूङ खनिसकिएको छ । चालु आव भित्रै यो सुरूङ ब्रेक थ्रु गरिने लक्ष्य रहेको उनले बताए ।
त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरूङको १९९ मिटर खनिएको छ । १ हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र ५९४ मिटर लामो मौरीभीर सुरूङको पोर्टल तयारी कार्य भइरहेको छ ।
६ पुल निर्माण सम्पन्न
फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । फास्ट ट्रयाकमा ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलहरू निर्माण भइरहेको छ ।
सूचना अधिकारी बस्नेतका अनुसार ८९ पुल मध्ये ८५ वटाको ठेक्का लागिसकेको छ । तीमध्ये अधिकांश पुलको फाउन्डेसन निर्माण सम्पन्न भई सुपरस्ट्रक्चरको काम भइरहेको छ । जसमा ५१ वटा पुलको फाउन्डेसन र २६ पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ । असार मसान्तसम्म ६ वटा पुल निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

७ लाख विरुवा रोपियो
द्रुतमार्गमा हालसम्म ४४ हजार ४२० रुखहरू कटान भएको छ । कटान भएका रुखहरूको बदलामा जम्मा ७ लाख ५ हजार ५५२ विरुवा रोपेको सेनाले जनाएको छ ।
प्रस्थान बिन्दुमै विवाद
फास्ट ट्रयाकको अन्य क्षेत्रमा काम भइरहे पनि प्रस्थान बिन्दुमै विवाद रहेको छ । डीपीआर अनुसार प्रस्थान बिन्दु खोकना क्षेत्र मानिएको छ । तर, स्थानीयले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन । खोकनाबासीले प्रस्थान बिन्दु ५ किमी पर डुकुछापमा सार्न माग गरिरहेका छन् ।
आयोजनाका लागि कुल १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण गनुपर्नेछ । जसमा व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । द्रुतमार्ग पहाडी भू-भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा ९, काठमाडौँमा ४.६, मकवानपुर ४९.७७ र बारामा ७.६ किमी सडक रहनेछ ।
द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।


