भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राको धेरै बिक्री हुने एसयूभी बोलेरोको फेसलिफ्ट भर्सनमा आउने भएको छ । बोलेरो फेसलिफ्टमा महिन्द्राले सुरक्षा विशेषता र प्रदूषण मापदण्डमा धेरै परिमार्जन गरि ल्याउने जनाएको छ ।
बोलेरोको फेसलिफ्ट भर्सन २०२० को अप्रिल १ मा सार्वजनिक गर्ने तय भएको छ । १९ वर्षअघि सार्वजनिक भएको बोलेरोको नयाँ भर्सनले पनि पुरानोको लिगेसी कायम राख्ने विश्वास कम्पनीले लिएको छ ।
महिन्द्राले आगामी महिनादेखि नै बोलेरोमा एबीएस भने समावेश गर्ने भएको छ । त्यस्तै बोलेरोमा ड्राइभर साइड एयरब्याग, सिटबेल्ट रिमाइन्डर, स्पीड वार्निङ, रेयर पार्किङ सेन्सरजस्ता विशेषता भने जुलाई १, २०१९ देखि समावेश हुनेछ ।
२०२० को अप्रिल १ देखि आउने बोलेरोमा भने सबै सुरक्षा मापदण्ड पुरा गरि आउने कम्पनीको भनाइ छ । बोलेरोमा हाइएर बोनेटलगायत विशेषता प्राथमिकताका साथ समावेश गर्ने जनाएको छ । महिन्द्राले फेसलिफ्ट बोलेरोमा इन्जिनमा समेत केही परिमार्जन गर्दैछ । नयाँ बोलेरोमा बीएस–६ स्ट्यान्डर्डको अल न्यू इन्जिन हुनेछ ।
कम्पनीले मूल्यमा प्रतिस्पर्धा गर्न २.५ लिटर एम२डीआई इन्जिनलाई समेत निरन्तरता दिने भएको छ । यो इन्जिन बीएस–६ मा अपग्रेड भने हुनेछ ।
२०१८ मा महिन्द्राले भारतमा ८० हजार बोलेरो बिक्री गरेको थियो भने २०१९ को फेब्रुअरीमा ७ हजार ९ सय ७४ वटा बिक्री भएको छ ।
नेपाली बजारमा पनि पहाडी बाटोलाई लक्षित गर्दै बलेरोको बिक्री वितरण हुने गरेको छ ।

