खातामा ६९ डलर मात्र नगद भएको नेटाले उत्पादन थाल्ने चर्चा

काठमाडौं । होजोन मोटर्सको नेटा ब्राण्डको खातामा केबल ६९.३३ अमेरिकी डलर अर्थात् ५०० युआन मात्रै छ । कम्पनीले घट्दो बिक्री कर्मचारी आन्दोलन र सप्लायर्सले सामान आपूर्ति रोक्दा नेटा आर्थिक संकटमा परेको थियो ।

सन् २०२२ मा १ लाख ५२ हजार युनिट कार बिक्री गरेर रफ्तार समातेको नेटा ब्राण्डको बिक्री निरन्तर ओरालो लाग्दै सन् २०२४ मा ६४ हजार ५४९ युनिटमा झरेको थियो । त्यसपछि कर्मचारी आन्दोलनले नेटालाई चौपट बनायो ।

अहिले कम्पनीको दायित्व ६ अर्ब युआन (८३३ मिलियन डलर) रहेको छ । समग्रमा कम्पनीको संचित नोक्सानी १८.३ अर्ब युआन पुगेको हो । यसरी धारासायी भएको कम्पनीले जुन २०२५ मा बैंकरप्सी फाइल गर्ने प्रक्रिया सुरू गरेको थियो ।

आर्थिक रूपमा संकटमा रहेको नेटाले फेरि एक पटक लगानी खोज्ने काम थालेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार जुलाइ महिनामा कम्पनीले फेरि संचालनमा ल्याउन अन्तिम प्रयास गरेको छ । जस अनुसार जुलाइ १० तारिखमा अलिबाबाको सम्पत्ति निपटान प्लेटफर्ममा रणनीतिक लगानीकर्ता खोजी गरेको थियो । जहाँ ४७ संस्थाहरूले लगानी गर्दै नेटा ब्राण्ड पुनः संचालनमा ल्याउन इच्छुक रहेको भन्दै रिपोर्ट पेस गरेका थिए ।

अलिबाबामा आएको प्रस्तावपछि नेटाको टोङसियाङमा रहेको प्लाण्टलाई पुनः संचालनमा ल्याउन कर्मचारी घटाइएको समाचारमा उल्लेख छ । कम्पनीले धेरै पुराना कर्मचारी कटौती गर्दै नयाँ कर्मचारी भर्ती गर्ने र उपकरणहरू परीक्षण गर्ने काम सुरू गरेको रिपोर्टमा उल्लेख छ ।

अहिले नेटासँग भएको सम्पत्ति भनेको टोङ्सियाङमा रहेको लगभग २ लाख ३३ हजार ३४५ वर्ग मिटरमा फैलिएको प्लाण्ट, उत्पादन मेसिनरी, सफ्टवयर, नेटा अटो ट्रेडमार्क मात्रै छ ।


Back_to_top