आजदेखि सुरू हुँदै नाइमा मोबिलिटी एक्स्पो, ३५ नयाँ सवारी सार्वजनिक गरिँदै

काठमाडौं । आजदेखि अटोमोबाइल मेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरू हुँदैछ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले पहिलो पटक आयोजना गर्न लागेको मोबिलिटी एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलले बिहान ९ बजे उद्घाटन गर्ने छन् ।

काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने मोबिलिटी एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदै छन् । ती ब्राण्डले एक्स्पोमा ३५ मोडलका नयाँ सवारी सार्वजनिक गर्ने आयोजक नाइमाले बताएको छ ।

नाइमाले दिएको जानकारी अनुसार १५ मोडलका चारपाङ्ग्रे सवारी साधन, १५ नयाँ मोडलका टु ह्वीलर, एउटा थ्री ह्वीलर्स र ४ वटा कमर्शियल गाडी सार्वजनिक हुनेछन् । यद्यपि, मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भनिएका केही मोडल आइनपुगेको बताइएको छ ।

बिक्रेताहरुले ग्राहकलाई आकर्षित गर्न एक अर्काकोभन्दा फरक, आकर्षक, कलात्मक स्टल निर्माण गरेका छन् ।

मोबिलिटी एक्स्पोमा चारपाँग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर ब्राण्ड सहभागी हुँदै छन् ।

त्यस्तै, दुईपाँग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो रहेका छन् ।

कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ सहभागी हुने नाइमाले जनाएको छ ।

नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका लागि कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ । मोबिलिटी एक्स्पो अवलोकन गर्न २०० रुपैयाँको टिकट लिनुपर्नेछ । विद्यार्थीले भने टिकट शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।


Back_to_top