नाम फरक, काम एउटै नहोस् नाइमा मोबिलिटी एक्स्पो

काठमाडौं । गत वर्षसम्म अटो शो भनेपछि नाडा अटोशो मात्र रहेकोमा यो वर्ष पहिलो पटक दुईवटा अटो शो हुँदैछन् । हरेक वर्ष अटो शो आयोजना गर्दै आएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले यस वर्ष भदौ ३ गतेदेखि अटो शो आयोजना गर्दैछ ।

त्यस्तै, सवारी आयात र उत्पादन गर्ने व्यापारीको हकहितका लागि भन्दै केही समय अघि मात्रै खुलेको अर्को संथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले आजदेखि अटो शो सुरु गर्दैछ । नाइमाले अटो शो नाम नराखिकन आजदेखि मोबिलिटी एक्स्पो आयोजना गर्दैछ ।

मोबिलिटी एक्स्पो विगतमा नाडा अटोशो हुने स्थान अर्थात् हाम्रो आफ्नै भृकुटीण्डपको टालटुले हलमा हुँदै छ । तर, यो प्रदर्शनी फरक हुने नाइमा मोबिलीटी एक्स्पोका संयोजक शिरिस मुरारकाले गत हप्ता भएको प्रेस कन्फ्रेन्समा दाबी गरेका थिए । विगतमा झैं गाडीको एक्स्पोमा हेर्न जाने दर्शकले आफ्नै गाडी पार्किङ गर्ने स्थान नपाउने समस्या र हल भित्रको गर्मीलाई कम गर्ने प्रयास गरेको उनले बताएका थिए ।

मंगलबार साँझ हामी मोबिलिटी एक्स्पोको तयारी हेर्न जाँदा सिमसिम पानी परिरहेको थियो । प्रदर्शनी स्थानको सीमितताको बाबजुद स्टलहरूको तयारी चलिरहेको थियो । मुख्य हलको साइडमै मिडिया लाउन्ज देख्दा मिडियाकर्मी भएका नाताले हर्षित त भइयो नै तर, त्यहाँ हुनै पर्ने सुविधाहरू इन्टरनेट, विद्युत् सेवा र आधारभूत आवश्यकता पानीको व्यवस्था गरेको देखिएन । आशा गरौं, आजसम्म कुनै रिपोर्टर वा कन्टेन क्रियटर त्यहाँ बसेर काम गर्न सक्ने व्यवस्था होला मिलाइएला ।

यो मोबिलिटी एक्स्पो नाइमाको औचित्य पुष्टि गर्ने कार्यक्रम समेत हो । किनभने अवलोकनकर्तालाई मोबिलिटी एक्स्पोमा विगतमा हुने नाडा अटो शोको भन्दा फरक अनुभूत गराउनु सक्नुपर्छ ।

मध्ये झरीको सिजनमा हुन गइरहेको यो मोबिलीटी एक्स्पोमा पानी नपर्ने कुरै छैन । वर्षाले प्रदर्शनी हेर्न आउने आगन्तुक र स्टललाई नै जोगाउने आयोजकलाई ठूलै चुनौती हुने देखिन्छ ।

फेरि गाडी पार्किङका लागि नेपाल पुलिस क्लबमा व्यवस्था गरेको भनिए त्यो ठाउँ पर्याप्त हुने देखिँदैन । वारी गाडी राखेर पारी एक्स्पो हेर्न जाँदा वर्षाले प्रभाव पार्ने देखिन्छ । यस्तोमा आयोजकले आगन्तुकलाई वारी पारी गर्नका लागि कम्तीमा छाताको व्यवस्था गरे राम्रो हुने थियो । सबै ब्राण्ड आफ्नो आफ्नो ब्राण्ड नेममा छाता बनाएकै छन् होला । बरु केही रकम लिएरै भए पनि छाताको व्यवस्था गरे व्यवस्थापनमा कुशलता समेत देख्न पाइन्थ्यो ।

यो मोबिलिटी एक्स्पो नाइमाको औचित्य पुष्टि गर्ने कार्यक्रम समेत हो । किनभने अवलोकनकर्तालाई मोबिलिटी एक्स्पोमा विगतमा हुने नाडा अटो शोको भन्दा फरक अनुभूत गराउनु सक्नुपर्छ । नयाँ गाडी मात्र देखाएर फरक अनुभव पाउँदैनन् । त्यसका लागि कुशल व्यवस्थापन, सेवा सुविधामा ध्यान दिनुपर्छ । नत्र हेर्न आउनेले नाम मात्र फरक काम उही अनुभूत गर्न सक्छन् ।

आशा गरौं मोबिलिटी एक्स्पोमा केही नयाँ र फरकपनको आभाष हुने छ ।

के मूल्य घटाघटको श्रृंखला देखिएता ?

मोबिलिटी एक्स्पो भने पनि अटोशो भने पनि मुख्य आकर्षण भनेकै नयाँ नयाँ गाडीको अफर नै हुन् । अटो शोमा नेपालमा भने नयाँ गाडी विशेष छुट र अफर पाइन्छ भनेर गाडी किन्ने योजना बनाएकाहरू कुरिरहेको पाइन्छ ।

गत वर्ष नाडा अटो शोमा एमजीले मूल्य घटाउने सुरुवात गरेकोमा यो वर्ष केईले एक्सथ्री प्रोको मूल्य ९ लाख रुपैयाँ घटाएर एक्स्पो सुरु हुने अघिल्लो दिननै आइसब्रेक गरिसकेको छ ।

यो अटो एक्सपोमा महिन्द्राको बीई र एक्सईभी, फरथिङ जस्ता नयाँ ब्राण्डका ईभीनै लन्च हुने भएका छन् भने अधिकांश ब्राण्डका नयाँ ईभी मोडल लन्च हुने छन् । नयाँ नयाँ मोडलहरू आकर्षक मूल्यमा आउने भएकाले केही समयदेखि राम्रो संख्यामा स्टकमा बसिरहेका गाडीहरूमा केईको एक्सथ्री प्रोमा जस्तै उच्च आकर्षक अफर आउने विश्वास गरिएको छ ।

आयात लागत घटेको भए पनि बिक्री मूल्य घटाउन लजाइरहेको कम्पनीहरूले विभिन्न बहानामा छुट र अफरहरू ल्याउने विशेष अवसरको रूपमा लिने छन् भन्ने आशा गर्न सकिन्छ ।


Back_to_top