अब एक्सपेङ जी-सिक्स १० मिनेट चार्ज गर्दा ४५० किमी गुडाउन सकिने

काठमाडौं । एक्सपेङ जी-सिक्सको फेसलिफ्ट भर्सन १० मिनेट चार्ज गर्दा ४५० किलोमिटर गुडाउन पुग्ने रिचार्ज हुने भएको छ । यसअघि ‘थ्री सी’ चार्जिङ सपोर्ट गर्ने ब्याट्री प्रयोग भएको जी-सिक्समा अब ‘फाइभ सी’ सपोर्ट गर्ने ब्याट्री दिइएको हो ।

चिनियाँ स्टार्टअप कम्पनी एक्स्पेङ जी-सिक्स फेसलिफ्टको ‘राइट ह्याण्ड ड्राइभ’ (आरएचडी) भर्सन थाइल्याण्डबाट बिक्री सुरु भएको छ । चार महिना अगाडि चीनमा जी-सिक्सको फेसलिफ्ट सार्वजनिक भएको थियो ।

नेपाली बजारमा समेत बिक्री भइरहेको एक्सपेङ जी-सिक्स इलेक्ट्रीक क्रसओभर एसयूभी हो । नेपालमा यसको फेसलिफ्ट मोडल केही महिना भित्रै आउने अनुमान लगाउन सकिन्छ ।

चिनियाँ कार निर्माताले थाइल्याण्डमा गत बिहिबार नै अपडेटेड सहित आएको जी-सिक्स मोडलको फेसलिफ्ट भर्सन लन्च गरेको हो । नयाँ अपग्रेड भएको एक्सपेङ जी-सिक्सले ‘फाइभ सी’ अल्ट्रा फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।

कम्पनीले जी-सिक्स मोडल ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । अपग्रेड भएको भर्सनमा एआईमा आधारित ‘टियान्जी एक्सओएस सिस्टम’ दिइएको छ ।

थाइल्याण्डमा बिक्री सुरु भएको नयाँ जी-सिक्समा ८०.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीप्याक छ । उक्त ब्याट्रीलाई १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल १२ मिनेट लाग्ने कम्पनीको दावी छ । त्यसको लागि ४५१ किलोवाटको चार्जर प्रयोग गर्नु पर्ने हुन्छ ।

एक्सपेङले मार्चमै एक्सपेङ जी-सिक्सको अपडेटेड मोडल चीनमा लन्च गरे पनि राइट ह्याण्ड ड्राइभ भर्सन भने थाइल्याण्डमा गत साता सार्वजनिक गरेको हो ।

एक्सपेङले जी-सिक्स मोडललाई चीन बाहिर नर्वे, नेदरल्याण्ड, स्वीडेन, डेनमार्क, जर्मनी, फ्रान्स, इजिप्ट, सिंगापूर, अष्ट्रेलिया, नेपाल लगायत ३० भन्दा बढि देशमा बिक्री गर्दै आएको छ ।


Back_to_top