नागढुंगा सुरुङमार्ग संचालनका लागि सरकारले फुकायो बाधा अडकाउ

काठमाडौं । सरकारले नागढुंगा-नौबिस सुरुङमार्ग संचालन तथा व्यवस्थापनका लागि बाधा अडाकाउ फुकाउ आदेश जारी गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालयले राजपत्रमा सूचना जारी गर्दै मन्त्रिपरिषद्ले बाधा अडउ फुकाउने आदेश जारी गरेको जानकारी गराएको हो ।

हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावलीमा सुरुङ, द्रुतमार्ग, फ्लाइओभर जस्ता नवीनतम प्रविधिका पूर्वाधार संचालन र व्यवस्थापनका लागि सेवा खरिद गर्न पाउने व्यवस्था छैन ।

त्यसैले, त्यस्ता पूर्वाधारको नियमित संचालन, व्यवस्थापन र मर्मत सम्भार कार्य विद्यमान संयन्त्रबाट सम्भव नहुने र सोसम्बन्धी अनुभव हासिल गरेका सेवा प्रदायकबाट सेवा खरिद गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले बाधा अड्काउ आदेश जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यससँगै अब नागढुंगा नौबिसे सुरुङमार्ग संचालनका लागि कम्पनी छनोटको बाटो खुलेको छ । नेपालकै पहिलो सुरुङमार्ग नागढुंगा नौबिसे सुरुङको हालसम्म करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी पुस भित्रै संचालनमा ल्याउने सरकारको योजना छ । यसका लागि आयोजनाले सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको छ ।

आयोजनाले सुरुङमार्ग संचालनका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ । यही भदौ भित्रै सार्वजनिक खरिद अनुगमन कार्यालयबाट टेण्डर डकुमेन्ट स्वीकृत गराइ टेन्डर खुलाइने आयोजनाले जनाएको छ ।


Back_to_top