१० वटा ओभरपास सहित धमाधम निर्माण हुँदै काँकडभिट्टा-लौकही सडक, यस्तो छ प्रगति

काठमाडौं । सडक संजालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको काँकडभिट्टा-लौकही सडक (एसियन हाइवे) निर्माणले गति लिन थालेको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा ३ वर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको काँकडभिट्टा-लौकही सडकको समग्र भौतिक प्रगति २५ प्रतिशत पुगेको हो ।

निर्माण थालिएको १ वर्षसम्म भौतिक प्रगति करिब १२ प्रतिशत रहेकोमा हाल बढेर २५ प्रतिशत पुगेको हो ।यो सडकको २०८० माघमा सम्झौता भई २०८१ जेठदेखि काम सुरु गरिएको थियो ।

काँकडभिट्टा-लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । ९५.७६ किमी सडकलाई काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी (पूर्वीखण्ड) र सीतापुरबाट इटहरीसम्म ५०.६ किमी (पश्चिमखण्ड)मा विभाजन गरिएको छ । दुईखण्डलाई पनि ५ प्याकेजमा ठेक्का लगाइएको छ । इटहरीदेखि लौकहीसम्मको २४.२४ किमी सडक भने ठेक्का लाग्न बाँकी छ ।

हाल दुई लेनमा रहेको यो सडकलाई एशियाली मापदण्डको बनाउन लागिएको हो । ठेक्का लागेको खण्डमा मात्रै साना र ठूला गरी ४८ वटा पुल र १० वटा ओभरपास निर्माण हुने छन् ।

यो आयोजना एसियाली विकास बैंकको ३० करोड डलर ऋण सहयोग र नेपालको ६.२ करोड डलर लगानीमा निर्माण हुन लागेको हो ।

यस्तो छ प्रगति अवस्था

काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी आशिष देवले हालसम्म यसखण्डको समग्र भौतिक प्रगति २४.५ प्रतिशत पुगेको बताए ।

उनका अनुसार पूर्वीखण्ड अन्तर्गत ४५ किमी खण्डमै निर्माण कार्य भइरहेको छ । यसखण्डमा अहिले कालोपत्रको तयारी, सबबेस राख्ने, कल्भर्ट, वाल लगाउने, माटो भर्ने, पुल निर्माण गर्ने लगायत काम भइरहेको छ ।

‘पूर्वीखण्डमा सडक र पुलको धमाधम काम भइरहेको छ । हालसम्म समग्र भौतिक प्रगति २४.५ प्रतिशत पुगेको छ, उनले मेरोअटोसँग भने ।

उनका अनुसार यसखण्डको १८ वटा पुलमध्ये १७ वटाको काम भइरहेको छ । त्यस्तै, १४३ कल्भर्ट मध्ये ७२ वटा निर्माण सम्पन्न भइसकेको छ । ६१ वटा निर्माणाधीन अवस्था छन् भने २० वटाको काम सुरू भएको छैन ।

त्यस्तै, चारआली जंगलमा ‘इलिफेन्ट अन्डर पास निर्माण भइरहेको छ । अन्डर पास ६.५ मिटर चौडाइ र १५ मिटर लम्बाइको बनिरहेको छ ।

उनले कनकाई, बिरिङ र निन्दाखोलामा ३०० मिटरभन्दा लामा पुल निर्माण भइरहेको बताए । यी पुल निर्माणको लागि छुट्टै ठेक्का लगाइएको छ । पुल निर्माणको समग्र प्रगति २५ प्रतिशत पुगेको उनले बताए । ‘सडकसँगै ठूला पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । पुलको फाउन्डेसनको काम सकी पिलर र सबस्ट्रक्चरको काम भइरहेको छ,’ उनले भने ।

यसखण्डको साइट क्लियरेन्सको काम अझै बाँकी छ । उनका अनुसार सडक क्षेत्रभित्र रहेका १७ वटा घर, १७ वटा सार्वजनिक संरचना र २४२२ वटा बिजुली पोल हटाउनुपर्नेछ । तीमध्ये हालसम्म १५ वटा, १३ वटा सार्वजनिक संरचना र १९०० बिजुली पोल हटाइसकिएको छ । ‘अझै २ घर, ४ पब्लिक स्ट्रक्चर र ५२२ विद्युत् पोल हटाउन बाँकी छ,’ उनले भने, ‘ती सं रचना हटाउने प्रक्रिया अघि बढिसकेको छ ।’ पूवीखण्डको ४५ किमी सडक निर्माणाको ठेक्का एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ ।

पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीका अनुसार यस खण्डको समग्र भौतिक प्रगति २६ प्रतिशत पुगेको छ । उनका अनुसार पश्चिम खण्डलाई ३ प्याकेजमा ठेक्का लगाइ धमाधम काम भइरहेको उनले बताए ।

सडकतर्फ हालसम्म ४ किमी कालोपत्र सम्पन्न भएको छ भने १० किमीमा सबबेस राखिएको उनले बताए । अन्य ठाउँमा वाल लगाउने, माटो भर्ने, कल्भर्ट निर्माण लगायत काम भइरहेको छ । १६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको छ ।

यसखण्डको रतुवा, बक्रहा र लोहन्द्रा खोलमा ३०० मिटरभन्दा लामो पुल निर्माण भइरहेको छ । ‘तीन वटै पुलको पाइलको काम सकिएको छ । अहिले पिलर उठाउने र फ्याक्ट्रीमा स्टील स्ट्रक्चरको काम हुँदैछ,’ उनले भने, ‘तीन वटै पुलको समग्र प्रगति २८ प्रतिशत पुगेको छ ।’

१२४ वटा घरटहरा हटाउन सूचना प्रकाशित गरिएको उनले बताए । सोमध्ये ३० वटा हटाउने प्रक्रिया सुरू भइसकेको उनले बताए । ३ वटा घर नहटाउन अदालतबाट स्टेअर्डर जारी भएको छ ।

यी ठाउँमा बन्दैछन् १० ओभरपास

काँकडभिट्टा लौकही सडकखण्डमा १० वटा ओभरपास निर्माण हुँदैछन् । जसमा पूवीखण्डमा ३ वटा र पश्चिम खण्डमा ७ वटा रहेका छन् ।

पूर्वीखण्डको झापाको चारआली, बिर्तामोड र चारपानेमा ओभर पास निर्माण हुनेछ । जसमा चारपानेमा काम सुरू भइसकेको छ भने चारआली र बिर्तामोडमा १ महिनाभित्र सुरू हुने सूचना अधिकारी देवले बताए ।

झापाको दमकमा ३ वटा, मोरङको बलिया, सुनसरीको तालतलैया चोक, इँटहरी, कलंकीमा निर्माण हुनेछन् । तीमध्ये दमकमा दुई वटाको काम सुरूको योजना प्रमुख प्रजापति बताए । सुनसरीमा भने ओभरपासको सट्टा फ्लाइओभर बनाउन माग भएकाले काम सुरू नभएको उनले बताए ।

‘सुनसरीका व्यवसायी र स्थानीयले ओभरपासका ठाउामा फ्लाइओभर बनाउन माग गनरेका छन् । तर, फ्लाइओभर ओभरपासको तुलनामा ५/६ गुणासम्म महँगो हुन्छ । सो सम्भव छैन । अहिलेकै डिजाइन अनुसार ओभर पास नै निर्माण हुन्छ,’ उनले भने ।

त्यस्तै, पश्चिम खण्डमा ६ वटा एनिमल क्रसिङ र २ वटा मंकी क्यानोपी ब्रिज पनि निर्माण हुने छन् ।

डेढ वर्षमा ७५ प्रतिशत काम सक्नुपर्ने

ठेक्का अवधिको डेढ वर्षमा २५ प्रतिशत मात्रै काम पूरा भएको छ भने अब डेढ वर्षमा बाँकी ७५ प्रतिशत काम सक्नुपर्नेछ ।

दुवै खण्डमा तोकिएकै समयमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अधिकारीहरू बताउँछन् । सुरूआताी चरणमा प्रगति सुस्त देखिए पनि कालोपत्रको चरणमा पुगेपछि ह्वात्तै बढ्ने उनीहरूको भनाइ छ ।

ठेक्का म्याद अब १८ महिना मात्रै बाँकी रहेकाले समयमै सक्ने लक्ष्य रहेको पूवीखण्डका सूचना अधिकारी देवले बताए । ‘ठेक्का अवधि अब १८ महिना मात्रै बाँकी छ । समयमै काम सम्पन्न गर्ने लक्ष्य छ । सो अनुसार अब चाडवाड सकिएपछि कामको गति अझै बढाइन्छ,’ उनले भने ।

२०८० माघदेखि सुरू भएको आयोजनाको म्याद २०८३ माघ १९ गतेसम्म रहेको छ । निर्माण सम्पन्न भएको ३ वर्षसम्म मर्मत सम्भारको जिम्मा स्वयम् कम्पनीले लिनेगरी ठेक्का सम्झौता भएको छ ।

५० मिटरसम्म फराकिलो हुने

काँकडभिट्टा लौकही सडकलाई चौडाइका आधारमा ३ वर्गामा विभाजन गरिएको छ । जसमा बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर फराकिलो बनाइने छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।


Back_to_top