रसुवा र तातोपानीको विकल्प बन्न सक्ला कोरला नाका ? यस्तो छ सडक

काठमाडौं । नेपाल चीन बीच १४ वटा व्यापारिक नाकाबाट व्यापार हुन्छ । तीमध्ये अधिकांश नाका निश्चित समय (सिजन)मा मात्रै खुल्छन् । तर, सधैं खुला हुने मुख्य दुई नाका रसुवा र तातोपानी २ महिनादेखि बन्द छन् ।

रसुवागढी नाका गत असार २४ गतेदेखि ठप्प छ । ल्हेन्दे खोलाएको आएको बाढीले चीन नेपाल जोड्ने मितेरी पुल र सडक बगाउँदै २ महिनादेखि यस नाकाबाट व्यापार हुन सकेको छैन ।

त्यस्तै, तातोपानी नाका पनि वर्षा लागेदेखि अधिकांश समय बन्द छ । हल्का पानी पर्ने बित्तिकै कोदारीमा पहिरो झरिहाल्छ । पन्छाएर खुलाए पनि फेरि पानी पर्ने बित्तिकै बन्द भइहाल्ने अवस्था छ ।

दुवै मुख्य नाका २ महिनादेखि बन्द भएसँगै व्यापार चक्र नै बिथोलिएको छ । व्यवसायीले दशैं, तिहार लक्षित गर्दै ल्याएका लत्ता कपडा लगायत सामान बाटोमै रोकिएका छन् । त्यस्तै, सवारी आयात समेत प्रभावित भएको छ । समयमै गाडी ल्याउन नसक्दा व्यवसायीले दशैंमा गाडी डेलिभरी गर्न समेत समस्या हुने देखिएको छ ।

दुवै नाका बन्द भएसँगै केही व्ययवसायीले घुमाएर पानीजहाज मार्फतै सवारी तथा सामान आयात गर्न समेत थालेका छन् । यसो गर्दा लागत र समय दुवै बढ्छ ।

रसुवा र तातोपानी नाका बन्द भएसँगै विकल्पमा कोरोला नाका संचालनमा ल्याउने तयारी गरिएको छ । मुस्ताङवासीका लागि सीमित समय मात्रै खुल्दै आएको कोरोला नाका विकल्पमा नियमित संचालनमा ल्याउन लागिएको हो ।

भन्सार विभागका निर्देशक किशोर बर्तौलाले कोरला नाका संचालनका लागि आवश्यक कर्मचारी पठाइसकिएको जानकारी दिए । साथै, बैंक लगायत पूर्वाधारको पनि व्यवस्था भइसकेको उनले बताए ।

‘तातोपानी र रसुवा नाकाको विकल्पमा कोरोला नाका नियमित संचालनमा ल्याउन लागिएको हो । बैंक लगायत अन्य पूर्वाधार छ । ६ जना कर्मचारी पनि पुगिसके,’ उनले मेरोअटोसँग भने, ‘चीनबाट सामान आएमा आजै भन्सार जाँचपास गर्न सक्ने अवस्था छ ।’

यद्यपि, तातोपानी र रसुवाको तुलनामा कोरोलाबाट सामान ल्याउँदा ढुवानी लागत र समय दुवै बढ्ने उनले बताए । ‘कोरोला आइपुग्न चीन र नेपाल दुवैतर्फबाट धेरै समय लाग्छ । रसुवा र तातोपानीबाट ३/४ घण्टामै सामान काठमाडौं आइपुग्छ । तर, कोरोलाबाट कम्तीमा पनि २/३ दिन लाग्छ । दुरी र समय बढेसँगै ढुवानी लागत समेत बढाउँछ,’ उनले भने ।

कस्तो छ सडक ?

काठमाडौंबाट कोरला पुग्न करिब ४७० किमी दुरी पार गर्नुपर्छ । यो तातोपानी (११३ किमी) र रसुवागढी (१२७ किमी) नाकाको तुलनामा चार गुणा धेरै लामो पर्छ । तर, दुवै नाका बन्द हुँदा टाढै भए पनि विकल्पको रुपमा हेरिएको छ ।

काठमाडौंबाट कोरला पुग्ने सडक कतै कालोपत्र, कतै ग्राभेल छ । नागढुंगाबाट मुग्लिनसम्मको १०० किमी निर्माणाधीन अवस्थामा छ । ३ खण्डमा विस्तार भइरहेको यो सडकको करिब ३५ किमी खण्डमा नयाँ कालोपत्र भएको छ । करिब ५० किमीमा पुरानै कालोपत्र छ । निर्माणाधीन रहेकाले खाल्डाखुल्डी, पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने अवस्था छ ।

मुग्लिनबाट पोखरासम्मको ८० किमी सडक लगभग सबै कालोपत्र भइसकेको छ । दुईखण्डमा विस्तार भइरहेको यो सडक आबुखैरेनी जामुने ४१ किमी पूरै कालोपत्र सकिएको छ भने जामुने पोखरा खण्डको ३६ किमी कालोपत्र भएको छ ।

पोखराबाट मालगढुंगासम्मको ६७ किमी सडक पनि पुरै कालोपत्र छ । मालढुंगाबाट कोरोलासम्मको २०२ किमीमध्ये ठाउँठाउँमा गरी करिब ६० किमी कालोपत्र भएको छ । बाँकी मध्ये अधिकांश ठाउँमा ग्राभेल रहेको छ ।

बेनी जोमसोम कोरला सडक योजना ३ जिल्लामा पर्छ । जसमध्ये पर्वतमा १३ किमी, म्याग्दीमा ३३ किमी र मुस्ताङमा १५६ किमी पर्छ । सोमध्ये पर्वतमा ७ किमी, म्याग्दीमा २६ किमी र मुस्ताङमा ६० किमी कालोपत्र भएको कालिगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक योजनाका प्रमुख ध्रुवकुमार झाले जानकारी दिए ।

उनका अनुसार मुस्ताङखण्डमा छुसाङसम्म कालोपत्र भएको छ । छुसाङदेखि कोरलासम्म ९० किमी ग्राभेल गरिएको छ । कालिगण्डकी कोरिडोरमा कन्टेनरहरू सजिलै गुड्न सक्ने उनले बताए ।

कालिगण्डकी करिडोरमा ठूला कन्टेनर गुडाउन कुनै समस्या छैन । अधिकांश ठाउँमा बाटो राम्रो छ । म्याग्दीको सिरुबारी, मुस्ताङको गमी लगायत ठाउँमा पहिरो र बाढीले सडक बिग्रिएको छ । त्यसको पनि मर्मत भइरहेको छ , १०१५ दिनमा मर्मत सकिन्छ,’ उनले मेरोअटोसँग भने ।

मालढुंगा कोरला खण्डमा १९ वटा पुल निर्माण सम्पन्न भएका थिए । तर, तीमध्ये ३ वटा पुल बाढीले बगाएको उनले बताए । सो स्थानमा बेलिब्रिज राखेर यातायात सुचारु गरिएको उनले बताए । रुप्से झरना, कागबेनी खोला र खहरे खोलामा बेलिब्रिज राखिएको उनले बताए । यद्यपि, बेलिब्रिजमा २५ टनभन्दा ठूला क्षमताका सवारी गुडाउन नपाइने उनले बताए ।

समग्रमा कालिगण्डकी करिडोरको भौतिक प्रगति ८६ प्रतिशत पुगेको उनले बताए ।

कोरला हुँदै सवारी आयात गर्ने बारे पनि व्यवसायीले छलफल गरिरहेका छन् । तातोपानी र रसुवाको तुलनामा समय र ढुवानी लागात धेरै लाग्ने भए पनि पानीजहाजबाट भारत हुँदै ल्याउनभन्दा थोरै समय लाग्छ ।


Back_to_top