काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप एसएआईसी जेएसडब्लू एमजी मोटर्स इण्डियामा आफ्नो लगानी घटाउने भएको छ । कम्पनीले जेएसडब्लू एमजी मोटर्स इण्डियामा थप लगानी नगर्ने र हाल भएको स्वामित्व पनि घटाउने निर्णय गरेको हो ।
एसएआईसीको जेएसडब्लू एमजी मोटर्समा हाल ४९ प्रतिशत सेयर हिस्सा रहेको छ ।
एसएआईसीले जेएसडब्लू एमजी मोटर्सबाट किन लगानी झिक्न लागेको भन्ने एकीन कारण खुलेको छैन । तर, भारत सरकारको असहयोगका कारण बाहिरन लागेको आकलन भइरहेको छ ।
रोयटर्सका अनुसार एसएआईसीले आफ्नो हिस्सा बिक्री गर्ने र जेएसडब्लू ग्रुपले खरिद गर्ने बारेमा छलफल चलिरहेको छ । पछिल्ला वर्षहरूमा भारतीय सरकारले चिनियाँ लगानीलाई भारतमा निषेध गरिरहेको छ ।
केही वर्ष अघि एसएआईसीले एमजी इण्डियामा थप लगानी गर्ने स्वीकृति मागे पनि भारत सरकारले अस्वीकार गरेको थियो । पछि एमजी इण्डियामा जिन्दाल गु्रप अन्तर्गतको जेएसडब्लू लगायत केही लगानीकर्ताहरू भित्रिएका थिए । अहिले पनि यो कम्पनीमा जेएसडब्लू र अन्यको गरी ५१ प्रतिशत हिस्सेदारी रहेको छ ।
जेएसडब्लू एमजी मोटर्सको ज्वाइन्ट भेन्चरको बाँकी हिस्सा पनि जेएसडब्लू ग्?पले खरिद गर्ने इच्छा देखाएको छ । यद्यपि, दुवै पक्ष बीच शेयरको मूल्य बारे सहमति हुन सकेको छैन् ।
अर्कोतर्फ जेएसडब्लूले भारतमा नयाँ न्यू इनर्जी ब्राण्ड लन्च गर्ने योजना बनाइरहेको छ । यसको लागि कम्पनीले अर्को चिनियाँ कम्पनी चेरी अटोमोबाइलसँग गम्भीर छलछल अघी बढाइसकेको छ । जेएसडब्लूको नयाँ अटोमोबाइल ब्राण्डमा चेरी अटोमोबाइले टेक्नलोजी पार्टनरको रूपमा काम गर्ने बताइएको छ ।
एसएआईसी र चेरी चीनको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा पनि एक अर्काको प्रतिस्पर्धी कम्पनी हुन् । एसएआईसीको विश्व बजारमा उपस्थिति एकदमै राम्रो रहेको छ । चेरीले पनि पछिल्लो वर्षमा स्थानीय र अन्तर्राष्ट्रिय दुवै बजारमा राम्रो वृद्धि गरिरहेको छ ।
जेएसडब्लूले भने एसएआईसीको ४९ प्रतिशत र अर्को ठूलो लगानीकर्ता एभरस्टोनको ७ प्रतिशतनै खरिद गर्ने योजना बनाएको हो । जेएसडब्लूले एसएआईसी सबै हिस्सा खरिद गरेपछि पनि एमजीको टेक्नलोजी र प्रडक्टको सपोर्ट रहिरहने जनाइएको छ । एसएआईसीको बहिरगमनपछि एमजीको ब्राण्ड रहने वा जेएसडब्लूको नयाँ ब्राण्ड हुने बारेमा निर्णय भइसकेको छैन ।
सन् २०१९ मा भारतमा ६५ करोड डलर लगानीमा एसएआईसीले एमजी मोटर्स इण्डियाको स्थापना गरेको थियो । कम्पनीले गुजरातमा रहेको जनरल मोटर्सको प्लाण्ट खरिद संचालनमा ल्याएको थियो । सन् २०२४ मा एसएआईसीले एमजी मोटर्स इण्डियाको ३५ प्रतिशत हिस्सा ३० करोड डलरमा बिक्री गरको थियो ।
*सच्याइएकाे । सम्पादक

