काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल (धुलिखेल-खावा) सडकका खाल्डाखुल्डी पुर्नि निर्देशन दिएका छन् ।
सोमबार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सहित सडक अनुगमनमा पुगेको घिसिङले चाडपर्व ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमन सहज बनाउन निर्देशन दिए हुन् ।
अनुगमनका क्रममा उनले आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे । त्यसक्रममा उनले सडक निर्माण प्रगतिबारे जानकारी लिए ।
आयोजना तर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्णरूपमा परिचालन गर्न तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न आग्रह गरे ।
हाल सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ । यस अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ ।

साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ । आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ । टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । तर, सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभाव लगायत कारण आयोजना निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ ।
बजेट अभाव हुन नदिन आवश्यक पहल गर्ने मन्त्री घिसिङले बताए । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आयोजनाका लागि चालु आव करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड मात्र विनियोजन गरिएको छ ।

