मुख्य दुई राजमार्गमा टिपर चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन काभ्रेपलाञ्चोकले बीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर चलाउन रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको भदौ ३० गतेको निर्णय अनुसार असोज ६ गतेदेखि २२ गतेसम्म यी राजमार्गमा टिपर संचालनमा रोक लगाइएको हो ।

नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आमनागरिकको आवागमनलाई सहज बनाउन टिपर संचालनमा रोक लगाइएको जिल्ला प्रशासनले जनाएको छ ।

यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

साथै अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनहरूलाई भने यो नियम लागू नहुने प्रशासनले स्पष्ट पारेको छ।

बीपी र अरनिको देशर्को पूर्वी पहाडी तथा तराईका जिल्लाहरू जाने प्रमुख राजमार्ग हुन् ।


Back_to_top