काठमाडौं । सरकारले तत्काल कुनै पनि नयाँ सवारी साधन खरिद नगर्ने भएको छ । अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय, मातहतका विभाग वा निकायहरुलाई पुरानै सवारी साधन प्रयोग गर्ने निर्देशन दिएको हो ।
जेन जी आन्दोलनका क्रममा देशभरका सरकारी निकायमा रहेका धेरै गाडीमा आगजनी भए पनि तत्काल खरिद नगर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
यद्यपि, समयमै निर्वाचन सम्पन्न गर्न तथा शान्ति सुरक्षा प्रयोजनको लागि भने हाल उपलब्ध सवारी साधनबाट अपुग भएमा खरिद गर्न सकिने मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री रामेश्वर खनाल चालु खर्च कटौतीमा निर्मम बन्दै सवारी साधनको उपयोगको सम्बन्धमा व्यापक खर्च कटौतीको निर्णय गरेका हुन् ।
सरकारले पदाधिकारीहरुले प्रयोग गर्ने सवारी साधन सुविधामा पनि कडाइ गरेको छ । सवारी सुविधा सम्बन्धी कानुनमा संख्या किटान भएकोमा बाहेक सवारी सुविधा पाउने राजनीतिक तथा प्रशासनिक पदाधिकारीले अब एकभन्दा बढी सवारी साधन उपलब्ध प्रयोग गर्न नपाउने भएका छन् ।
सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीलाई सवारी सुविधा व्यवस्थापन सम्बन्धी छुट्टै मापदण्ड ४५ दिनभित्र तयार गरी सोही बमोजिम व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सवारी साधन क्षति भएका मन्त्रालय एवम् केन्द्रीय निकाय तथा कार्यालयले आफ्नो मातहतका विभाग, निकाय वा कार्यालयहरूमा भएका सवारी साधनबाटै व्यवस्थापन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै, मन्त्रालयले नयाँ खरिद वा पुराना बाँकी सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा गर्ने पनि निर्देशन दिएको छ ।


