फुल स्पीडमा लीपमोटर, १० लाख कार उत्पादन पूरा

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल स्टार्टअप कम्पनी लीपमोटर तीव्र गतिमा बजार बढाउन सफल भएको छ । कम्पनीले १० लाख युनिट कार उत्पादन पूरा गर्दै आफ्नो रफ्तार अझै तीव्र बनाएको हो ।

युरोपियन जाइन्ट स्टेलान्टिसको प्रवेशसँगै निकै स्पीडमा उत्पादन बिक्री बढाइरहेको लीपमोटरले सन् २०२५ मा ५ लाख कार बिक्री गर्ने लक्ष्य लिएकोमा त्यसलाई बढाएर ६ लाख ५० हजार युनिट बिक्री गर्ने जनाएको छ । तर, चालु वर्षको ८ महिनामा कम्पनीले ३ लाख २८ हजार ८५९ युनिट कार बिक्री गरको जनाएको छ ।

सन् २०१५ मा स्थापना भएको लिपमोटरले सन् २०१९ को जुन ६ बाट उत्पादन सुरू गरेको थियो । कम्पनीको पहिलो १ लाख युनिट उत्पादन सन् २०२२, जुन २८ मा पूरा गरेको थियो ।

लीपमोटरले ५ लाख युनिट भने सन् २०२४ को अक्टोबर १७ मा भेटाएको थियो । कम्पनीलाई ५ लाखबाट अर्को ५ लाख युनिट थपेर कुल उत्पादन १० लाख युनिट पुर्याउन केबल ३४३ दिन मात्रै लाग्यो ।

नेपाली बजारमा समेत स्टेलान्टीसको प्रवेशसँगै बिक्री सुरू भएको लीपमोटरका कार युरोपमा पनि निकै चर्चित बन्दै गएका छन् । सुरूमा ब्याट्री इलेक्ट्रीक भेहिकल मात्रै उत्पादन गर्दै आएको कम्पनीले सन् २०२३ बाट ईआरईभी पनि उत्पादन गर्दै आएको छ ।

लीपमोटरसँग टी-०३, बी-१०, बी-०१, सी-०१, सी-१०, सी-११ र सी-१६ जस्ता मोडल छन् । नेपालमा अहिलेसम्म यी मध्ये टी-०३, बी-१० र सी-१० उपलब्ध छ ।


Back_to_top