काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले सिंगल चार्ज र फुल ट्यांकी इन्धनबाट १००० किलोमिटर रेन्ज दिने ठूलो एसयूभी बजारमा ल्याउने भएको छ । सन् २०२७ बाट अमेरिकी बजारमा बिक्री गर्ने लक्ष्य राखिएको एसयूभी हुन्डाईको लागि पहिलो रेन्ज एक्सटेन्डेड रेन्ज ईभी (ईआरईभी) हुने भएको हो ।

हुन्डाई मोटर्स ग्रुपका सीईओ जोसे मुनोजले नयाँ टेक्नोलोजीको रूपमा ईआरईभी कम्पनीले बनाउन लागेको पुष्टि गरे । उनले गत साता भएको वार्षिक लगानीकर्ता सम्मेलनपछि मिडिया ब्रिफिङको क्रममा उक्त जानकारी दिएका हुन् ।
‘हामी ठूला पीकअप र एसयूभी मात्रै इआरईभी टेक्नोलोजीमा ल्याउने छौं । जसले रेन्ज इन्जाइटी हटाउने र लामो यात्रामा ठूला गाडी लिएर हिड्न चाहनेलाई ढुक्क बनाउन सकोस्’, सीईओ मुनोजले भने ।
सकभर पेट्रोलको प्रयोग नै गर्न नपरोस् भन्ने विषयमा कम्पनी सहजक रहेको बताउँदै सीईओ मुनोजले भने, ‘दैनिक काम सकेपछि मोवाइल फोन जस्तै रातमा चार्ज गरेर चलाउन सकियोस् । होइन, तपाई छुट्टी मनाउन लामो यात्रामा जाँदै हुनुहुन्छ भने चार्जर पाइन्छ कि पाइन वा चार्जरले काम गरेको होला या नहोला भन्ने तनावमा बस्नु नपरोस् भनेर ईआरईभी ल्याउन लागेका हौं ।’
ईआरईभीको घोषणासँगै हुन्डाई सबै किसिमका इन्धनबाट चल्ने सवारी साधन उत्पादनमा सक्रिय ब्राण्ड बन्ने भएको छ । कोरियन निर्मातासँग अहिले पेट्रोल, डिजेल, सीएनजी, ब्याट्री इलेक्ट्रीक, हाइड्रोजन फ्यूलसेल जस्ता विकल्पहरू छन् । अब थपिने ईआरईभीले हुन्डाईको लाइनअपमा अर्को इट्टा थप्ने छ ।

