काठमाडौं । साइबर आक्रमण टेक्नोलोजी विकाससँगै डरलाग्दो समस्या बन्दै आएको छ । विश्व चर्चित कार निर्माता ज्यागुअर ल्याण्ड रोभर साइबर आक्रमणको सिकार बन्दा १ महिनासम्म उत्पादन ठप्प भएको हो ।
टाटा मोटर्सको स्वामित्वमा रहेको ब्रिटिस अटोमोवाइल ब्राण्ड ज्यागुअर ल्याण्ड रोभरमा भएको साइवर आक्रमणको कारण उत्पादन ठप्प छ । फाइनान्सीयल टाइम्सको रिपोर्ट अनुसार उत्पादन बन्द गर्नु पर्दा कम्पनीलाई साप्ताहिक रुपमा ५० मिलियन पाउण्ड घाटा भइरहेको छ ।
साइबर आक्रमणपछि ज्यागुअर ल्याण्ड रोभरले आफ्ना करिब ३३ हजार कर्मचारीलाई घरमै बस्न भनेको छ । बीबीसीका अनुसार स्कैटर्ड लैप्सस हंटर्स नाम गरेको ह्याकरले उक्त साइबर आक्रमणको जिम्मा लिएको छ । उक्त ह्याकर ग्रुपमा धेरैजसो टिनएजरहरु रहेको बताइन्छ ।
गत ३१ अगस्टमा साइबर हमला भएको जेएलआर ग्रुपले फेज वाइज उत्पादन सुचारु गरेको छ । कम्पनीले अक्टुबर १ बाट भने आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्ने बताएको छ । उत्पादन सुचारु भएसँगै प्यारेन्ट कम्पनी टाटा मोटर्सको शेयर समेत २ प्रतिशतले बढेको थियो ।


