काठमाडौं । संघीय राजधानी काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि जिल्ला प्रशासन चितवनले अनुगमन गर्दै धमाधम कारबाही गर्न थालेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको हो ।
टोलीले चितवन हुँदै काठमाडौंतर्फ गुड्ने सवारीसाधनमा अनुगमन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले सडकमा जाँच गरी बढी भाडा असुल्नेलाई कारबाही गरेको हो ।
यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम उल्लेख गरेर ठगी गरेकालाई कारबाही गरिएको हो ।
अनुगमनका क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइएको छ। साथै, २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार चलानीबिना यात्रु लिएर हिँडेका सवारी चालक र बढी भाडा असुल गरेकालाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको छ।
अटेर गरेकालाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

