काठमाडौं । बैंकबाट ऋण लिएर गाडी किन्ने सोच बनाउनु भएको छ भने अहिलेको समय तपाईंका लागि सबैभन्दा उपयुक्त हुनसक्छ ।
किनभने अहिले बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । ब्याजदर जति कम भयो, ऋणीलाई उति नै फाइदा हुन्छ । सस्तो ब्याजमा ऋण लिएर गाडी किन्दा लागत समेत कम पर्न जान्छ । मासिक तिर्नुपर्ने ब्याजखर्च कम हुन्छ ।
३ वर्ष अघि १५/१६ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर हाल औसतमै साढे ७ प्रतिशत हाराहारीमा झरेको छ । अझ बेसरेट कम भएका बैंकबाट ऋण लिँदा ६/६.५ प्रतिशतमै पाइने अवस्था छ ।
बैंकहरूको ब्याजदर सस्तिनुको मुख्य कारण हो बैंकहरूको बेसरेट घट्नु । बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्न गई हाल औसत बेसरेट ५.८३ प्रतिशतमा झरेको छ । यो २०७७ यताकै सस्तो हो ।
बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट पनि सस्तिएको हो । बेसरेट घटेसँगै कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ ।
बैंकहरूले हाल बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा लगानी गर्छन् । न्यूनतम प्रिमियम भने ग्राहकले गर्नसक्ने बार्गेनिङमा भर पर्छ । हाल केही बैंकले न्यूनतम ०.५ प्रतिशत प्रिमियममै पनि कर्जा दिइरहेको पाइन्छ ।
हाल बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँ बढी तरलता छ । आर्थिक शिथिलतका कारण कर्जाको माग नहुँदा पैसा बैंकमै थुप्रिएको हो । हाल बैंकहरूले कर्जाको माग आउँदा न्यूनतम ०.५ प्रतिशतदेखि १.५/२ प्रतिशत प्रिमियममा ऋण दिइरहेका छन् । अहिले बैंकबाट ६ देखि ७.५/८ प्रतिशत हाराहारी ब्याजदरमा ऋण पाइने अवस्था छ । यो ३/४ वर्ष अगाडिको तुलनामा झण्डै आधा सस्तो हो ।
त्यस्तै, बैंकहरूले स्थिर ब्याजदरमा ऋणन लिन चाहने ग्राहकलाई पनि सस्तै ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् । बैंकहरूले अहिले साढे ७ प्रतिशतदेखि ९/१० प्रतिशतसम्मको स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् । बैंकहरूले ५ देखि ७ वर्षसम्मका लागि ऋण दिन्छन् ।

उत्पादनमूलक उद्योगमा ऋणको खासै माग नभएकाले अहिले बैंकहरूले घरजग्गा, गाडी र सेयर किन्न सस्तो ब्याजको कर्जा योजना समेत ल्याएका छन् ।
अहिले एकातिर बैंकको सस्तो ब्याजदर छ भने अर्कोतर्फ सवारी बिक्रेताले फेस्टिभ अफर अन्तर्गत हेभी छुट दिइराखेका छन् । यस्तोमा नयाँ गाडी किन्दा निकै फाइदा पुग्ने देखिन्छ ।
कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तोमा ऋण ?
कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।
ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् भने न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् ।
२० वटा बैंकमध्ये हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको बेसरेट सबैभन्दा कम ४.६ प्रतिशत रहेको छ । तर, हाल चार्टर्डले सवारी कर्जा दिँदैन ।
सवारी कर्जा दिने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा सस्तो ४.७२ प्रतिशत छ । बार्गेनिङ गर्न सक्ने ग्राहकलाई बैंकले १/१.५ प्रतिशत ब्याजदरमै कर्जा दिइरहेको छ । यसअनुसार बैंकबाट ६/६.५ प्रतिशत ब्याजदरमै कर्जा पाइने अवस्था छ ।
त्यस्तै, एभरेष्ट, नेपाल, ग्लोबल आइएमई, कृषि विकास, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र माछापुच्छ्रे बैंकको बेसरेट ६ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर ७ प्रतिशत हाराहामी कर्जा पाइने अवस्था छ ।
त्यस्तै, एनएमबी, नेपाल एसबीआइ, सिद्धार्थ, सिटिजन्स, प्रभु, लक्ष्मी सनराइज र कुमारी बैंकको बेसरेट ६.२२ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि ७/७.५ प्रतिशत ब्याजदरमै अटो लोन पाउन सक्ने अवस्था छ ।
तुलनात्मक रुपमा हिमालयन, प्राइम कमर्शियल र एनआइसी एशियाको बेसरेट महँगो रहेको छ । हिमालयनको ६.३१ प्रतिशत, प्राइमको ६.४ प्रतिशत र एनआइसीको सबैभन्दा बढी ६.९१ प्रतिशत रहेको छ । तुलनात्मक रूपमा यी बैंकबाट ऋण लिँदा केही महँगो पर्छ ।

