चार ठाउँबाट बीपी राजमार्गमा डाइभर्सन बनाउन सुरू

काठमाडौं । असोज १८ र १९ गते आएको बाढीले बगाएको बीपी राजमार्ग पुनर्निमार्णलाई तीव्रता दिइएको छ ।

रोशी खोलामा आएको बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ४८०० मिटर सडक बगाएको छ । अहिले यस सडक खण्डको विभिन्न चार स्थानबाट डाइभर्सन निर्माण थालिएको हो ।

काभ्रेतर्फ चौकीडाँडा, तीनथली, कालढुंगा खण्डमा डाइभर्सन निर्माण थालिएको सडक डिभिजन भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिइन् । उनले सोमबारदेखि नै डाइभर्सन निर्माण थालिएको बताइन् ।

उनका अनुसार कालढुंगामा दुइटा, चौकीडाँडा र तीनथलीमा एक एक वटा उपकरण (एक्साभेटर र ह्वीललोडर) परिचालन गरिएको छ ।

‘अझै खोलामा बाढीको बहाव पूरै घटिसकेको छैन । तर, उपकरण लैजना सम्भव ठाउँबाट डाइभर्सन निर्माण थालिसकिएको छ । अहिले ३ ठाउँबाट काम सुरू भएको छ,’ उनले मेरोअटोसँग भनिन्, ‘अहिले प्राविधिकहरू फिल्डमै हुनुहुन्छ । थप कुन कुन ठाउँबाट काम गर्न सकिन्छ अध्ययन भइरहेको छ ।’

साथै, मंगलटारतर्फबाट पहिरो पन्छाउने काम सुरू भएको उनले बताइन् । उनले बीपी राजमार्गको काभ्रेखण्डमा मात्रै आपतकाली प्रयोजनका लागि २६ वटा उपकरहरू स्ट्याण्ड बाई राखिएको जानकारी दिइन् । तर, इन्धन लैजान समस्या हुँदा सबै उपकरणहरू संचालनमा ल्याउन नसकिएको उनले बताइन् ।

‘आपतकालीन प्रयोजनका लागि २६ वटा उपकरण फिल्डमै छन् । तर, बाटो नहुँदा इन्धन लैजान नसकिएकाले सबै प्रयोग गर्न सकिएको छैन । इन्धन लैजान वैकल्पिक उपायहरूको बारेमा पनि छलफल भइरहेको छ,’ उनले भनिन् ।

जतिसक्दो चाँडो सडक खुलाउने गरी काम भइरहेको उनको भनाइ छ । यद्यपि, कहिलेसम्म सडक सुचारु हुन्छ भन्ने एकीन नभएको उनले बताइन् । बीपी राजमार्गको काभ्रेतर्फ मात्रै ४००८ मिटर डाइभर्सन बगाएको छ ।

त्यस्तै, सिन्धुलीको नेपालथोकबाट पनि डाइभर्सन निर्माण सुरू गरिएको छ । सडक डिभिजन सिन्धुली (खाल्टे)का सूचना अधिकारी सुदर्शन उप्रेतीले नेपालथोकतर्फ २ वटा एक्साभेटर र २ वटा ट्रिपर परिचालन गरिएको जानकारी दिए । थप २ वटा ट्रिपर आउने क्रम रहेको बताए ।

‘२ वटा एस्काभेटर र २ वटा ट्रिपर परिचालन गरी नेपालथोकतर्फबाट धमाधम डाइभर्सन निर्माण थालिएको छ । नेपालथोकको भोलिसम्म सकिन्छ होला । यहाँ बाटो बनेपछि अन्य ठाउँमा काम सुरू गर्छौं,’ उनले मेरोअटोसँग भने । सिन्धुलीतर्फ करिब ८०० मिटर डाइभर्सन बगाएको छ ।

२०८१ असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सोमध्ये पूरै सडक बगाएको करिब ९ किमी बढी खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सवारी संचालनमा ल्याइएको थियो । यस वर्षको बाढीले उक्त डाइभर्सन मध्ये झण्डै ५ किलोमिटर खण्ड बगाएको हो ।


Back_to_top