काठमाडौं । काठमाडौं उपत्यकाबाट पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दुरीको बीपी राजमार्ग ४ दिनदेखि ठप्प छ । रोशी खोलामा आएको बाढीले ४८०० मिटर बढी सडक (अस्थायी डाइभसर्न) बगाउँदा उक्त राजमार्ग बन्द भएको हो ।
काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको खुरकोटसम्मको १८ बढी ठाउँमा डाइभर्सन बगाएको छ । ती ठाउँमा अहिले सडकको नामनिसाना छैन ।
अहिले पनि रोशीमा बाढी आइरहेकै छ । तर, बहाव घट्दो क्रममा रहेकाले डाइभर्सन निर्माण थालिएको सडक डिभिजन भक्तपुर र सिन्धुलीले जनाएका छन् । उक्त सडक कहिलेदेखि संचालनमा आउँछ भन्ने एकीन नभए पनि कम्तीमा पनि एक साता बढी लाग्ने देखिन्छ ।
यस्ता छन् बीपी राजमार्गको वैकल्पि सडक
यसैबीच, बीपी राजमार्गमा रोकिएका सवारी साधनलाई वैकल्पिक सडक हुँदै काठमाडौं जाने र आउने व्यवस्था मिलाइएको छ । बीपी राजमार्गको विकल्पमा ३ सडक प्रयोग गर्न सकिन्छ ।
पहिलो, सिन्धुलीको खुरकोटबाट रामेछापको मन्थली हुँदै पुष्पलाल मार्गबाट लामोसाँघु-जिरी सडक र अरनिको राजमार्ग हुँदै काठमाडौं आउन र जान सकिन्छ ।
बीपी राजमार्ग अवरुद्ध बनेपछि पूर्वबाट आउने सवारी साधन पुष्पलाल राजमार्गबाट चरिकोट हुँदै काठमाडौं आउजाउ गर्न थालेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । उनका अनुसार आइतबारदेखि सवारी साधन रामेछाप-दोलखा-सिन्धुपाल्चोक-काभ्रे हुँदै काठमाडौं आउजाउ गर्न थालेका छन् ।
पूर्वबाट आउने सवारी साधन खुरकोटबाट रामेछापको मन्थली-तामाकोशी-चरिकोट-खाडीचौर-धुलिखेल हुँदै काठमाडौं पुग्न सक्छन् । त्यसैगरी, काठमाडौंबाट पूर्वी तराई जाने सवारी सोही सडक हुँदै खुरकोट निस्केर बीपी राजमार्ग हुँदै जान सक्छन् ।

खुर्कोटबाट तामाकोशीसम्मको सडक केही साघुँरो छ भने तामाकोशीबाट काठमाडौंसम्मै दुई लेनको सडक छ । मन्थली-तामाकोशी-चरिकोट-खाडीचौर-धुलिखेल-काठमाडौं सडक लगभग सबै कालोपत्र छ । पहिरो खसेका केही ठाउँमा मात्र कच्ची छ । यस सडकमा साना तथा ठूला दुवै सवारी संचालन गर्न सकिन्छ ।
दोस्रो, सिन्धुलीमाडीबाट मदन भण्डारी राजमार्गबाट हेटौंडा-फाखेल हुँदै काठमाडौं पुग्न सकिन्छ । फाखेल हुँदै मोटरसाइकल, कार, जिप, भ्यान लगायत साना सवारी साधन काठमाडौं आउन सक्छन् । ठूला सवारी भने हेटौंडाबाट पालुङ-नौबिसे हुँदै काठमाडौं आउन सक्छन् । यो सडक खण्डको पनि लगभग सबै भाग कालोपत्र छ । हेटौंडाबाटै कान्तिलोकपथ हुँदै काठमाडौं आउन सक्ने भए पनि पहिरोका कारण बन्द छ ।
तेस्रो विल्पमा बर्दीबास-हेटौंडा-नारायणगढ-मुग्लिन हुँदै काठमाडौं पुग्न सकिन्छ । पूर्वी तराईबाट आउने ठूला यात्रु तथा मालबाहक सवारी साधनले यो रुट प्रयोग गर्न सक्छन् । यस रुटको मुग्लिन नारायणगढ सडकमा पहिरोको जोखिम रहेको छ । बर्दीबासबाट मुग्लिनसम्म सबै सडक कालोपत्र छ । मुग्लिनदेखि काठमाडौंसम्म सडक विस्तारको क्रममा रहेकाले ठाउँठाउँमा खाल्डाखुल्डी, कच्ची रहेको छ । साथै, यो सडक सबैभन्दा लामो पनि पर्छ ।
दुरी भने दोब्बर लामो
बीपी राजमार्गका विकल्पमा प्रयोग गर्न सकिने सडको दुरी भने दोब्बरभन्दा बढीसम्म छ । खुरकोट-मन्थली-चरिकोट-खाडीचौर-धुलिखेल हुँदै काठमाडौं आइपुग्न बीपी राजमार्गकोभन्दा १०१ किमी धेरै यात्रा गर्नुपर्छ । अर्थात् कुल २०६ किलोमिटर दुरी पार गर्नुपर्छ । बीपी राजमार्गको खुर्कोटबाट काठमाडौं आइपुग्न १०५ किलोमिटर (खुर्कोट-धुलिखेल ७५ किमी र धुलिखेल-काठमाडौं ३० किमी) दुरी पार गर्नु पर्छ ।
तर, खुर्कोटबाट १८ किलोमिटरको यात्रापछि रामेछापको सदरमुकाम मन्थली पुग्न सकिन्छ । मन्थलीबाट पुष्पलाल मार्ग हुँदै ३६ किमी र १९ किमी लामोसाँघु-जिरी सडक हुँदै कुल ५५ किमी पार गरेपछि चरिकोट पुगिन्छ । चरिकोटबाट १३३ किलोमिटर पार गरेपछि काठमाडौं पुग्न सकिन्छ ।
त्यस्तै, सिन्धुलीमाडी-हेटौंडा-फाखेल हुँदै काठमाडौं आइपुग्न कुल २०९ किलोमिटर (सिन्धुलीमाडी-हेटौंडा १२७ किमी र हेटौंडा-काठमाडौं ८२ किमी) यात्रा गर्नुपर्छ । हेटौंडा-पालुङ हुँदै आउने सवपारीले २१९ किमी दुरी पार गर्नुपर्छ । तर, सिन्धुलीमाढीबाट बीपी राजमार्ग हुँदै काठमाडौं आउन १५० किमी पर्छ ।
त्यसैगरी, बर्दीबास-हेटौंडा-नारायणगढ-मुग्लिन-काठमाडौं रुट सबैभन्दा लामो पर्छ । बर्दीबासबाट काठमाडौं आइपुग्न ३४५ किमी दुरी पार गर्नुपर्छ । बर्दिबास-हैटौंडा १३० किमी, हेटौंडा-नारायणगढ ७७ किमी, नारायणगढ-काठमाडौं १३८ किमी रहेको छ । बर्दीबासबाट बीपी राजमार्ग हुँदै काठमाडौं आउन १९० किमी पर्छ ।

