चीनमा बनेका ईभीको औषत रेन्ज ५३८ किलोमिटर

काठमाडौं । विद्युतीय साधनको कुरा गर्ने वित्तिकै धेरैको मनमा आउने पहिलो प्रश्न यसले कति रेन्ज दिन्छ भन्ने हो । ईभीहरु जहाँ पायो त्याहाँ चार्ज गर्न नसकिने भएकोले यसको रेन्जलाई धेरैले प्राथमिकतामा राखेका हुन् ।

विद्युतीय साधनको सबैभन्दा ठूलो बजार चीनमा बनेका ईभीको औषत रेन्ज ५३८ किलोमिटर पुगेको छ । जुन गाडीको रेन्ज मापन गर्ने चिनियाँ एजेन्सी सीएलटीसीको परीक्षण अनुसार हो ।

सन् २०२० मा चीनमा बन्ने विद्युतीय कारको औषत रेन्ज ४२५ किलोमिटर थियो । अहिले त्यो बढेर ५३८ किलोमिटर पुगेको हो । पछिल्लो ५ वर्षमा ईभीको रेन्ज २४ प्रतिशतले बढेको हो ।

चीनमा सन् २०२५ मा उत्पादन भएका विद्युतीय कार मध्ये सबैभन्दा धेरै मोडलहरुको रेन्ज ५०० देखि ५९९ किलोमिटर रहेको छ । दोस्रो धेरै रेन्ज ६०० देखि ६९९ किलोमिटरको बीचमा छ । साथै, ४०० देखि ४९९ किलोमिटर रेन्ज दिने ईभीहरु तेस्रो धेरै उत्पादन भएका छन् । सन् २०२५ मा ३०० किलोमिटर सम्म रेन्ज दिने ईभीहरु ज्यादै न्यून मात्रै उत्पादन भएका छन् ।

खासगरी ब्याट्रीको इनर्जी डेन्सीटी बढ्दा गाडीको रेन्ज धेरै आएको हो । पहिलेकै समान साइज र तौल भएका ब्याट्रीले पहिलाको भन्दा रेन्ज धेरै दिन थालेका छन् । त्यस्तै, लिथियम आयोन ब्याट्रीको मूल्यमा आएको गिरावटले पनि कम्पनीहरुले ठूलो साइजका ब्याट्री प्रयोग गर्न थालेका छन् ।


Back_to_top