काठमाडौं । नेपालमा एन्ड्यूरो मोटरसाइकलको खासै चर्चा हुँदैन । एन्ड्यूरो मोटरसाइकलको बजार नेपालमा ‘एड्भेन्चर टूरर’लेनै लिएको देखिन्छ ।
त्यसकारण एन्ड्यूरो मोटरसाइकलमा खासै धेरै छनोट पनि पाइदैँन । एन्ड्यूरो र एड्भेन्चर टूरर आफैँमा फरक सेग्मेन्ट हो ।
केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले ३९० एन्ड्यूरो आर नेपालमा सार्वजनिक गर्यो । यो मोटरसाइकलले सोचे जस्तो बुकिङ नपाएपनि यसले धेरै चर्चा भने पाएको थियो ।
नेपालमा एन्ड्यूरो मोटरसाइकल धेरै महंगो पर्ने भएको कारण कम मूल्यमा आएको केटीएम ३९० एन्ड्यूरो आरले चर्चा पाएको हो ।

नेपालमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनी स्याकार ट्रेडिङ ले होन्डा सीआरएफ २५० एन्ड्यूरो मोटरसाइकल बिक्री गर्दै आएको थियो । महंगो मूल्यका कारण अहिले त्यसको बिक्री बन्द गरिएको छ ।
केटीएमले बजारमा बिक्री सुरु गरेको केटीएम ३९० एन्ड्यूरो आर मोटरसाइकलको कुनै प्रतिस्पर्धी नै छैन भन्दा फरक पर्दैन । यसको मूल्य १० लाख रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । अहिले हामी कहाँ एन्ड्यूरो मोटरसाइकल चढ्न चाहनेसँग ३९० एन्ड्यूरो एकमात्र बिकल्प हो ।

केटीएम नेपालका प्रतिनिधिहरुले ३९० एन्ड्यूरो आरमा डोल्पाको ढुकुङ्ला पाससम्मको यात्रा गरेका थिए । त्यो नै ढुकुङ्ला पास पुग्ने पहिलो मोटरसाइकल समेत भएको छ । ५५०० मिटर हाइटमा अवस्थित पासमा केटीएमको तीन मोटरसाइकल लिएर राइडहरु पुगेका थिए ।

