काठमाडौं । नेपाली बजारमा बिक्री भइरहेको यामाहा डब्लूआर १५५ आर मोटरसाइकल भारतमा अर्को महिना सार्वजनिक हुने भएको छ ।
यामाहा इन्डियाले भारतमा डबल पर्पस एड्भेन्चर सेग्मेन्टको डब्लूआर १५५ आर मोटरसाइकल २०२५ नोभेम्बर ११ तारिखमा सार्वजनिक गर्ने भएको हो ।
इन्डोनेसियामा निर्माण भएको यामाहाको डब्लूआर १५५ आर मोटरसाइकल नेपालमा करिब १ वर्ष अघिदेखि नै उपलब्ध छ । हाल यस मोटरसाइकलको बिक्री नेपाल, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशहरूमा भइरहेको छ । कम्पनीले भारतीय बजारमा भने अब लन्च गर्ने भएको हो ।
निकै प्रिमियम र हाईटेक फिचरमा मोटरसाइकल तथा स्कुटर निर्माण गर्न प्रख्यात मानिने जापानी दुईपाङग्रे ब्राण्ड यामाहाको डब्लूआर १५५ आर विश्वव्यापी बजारहरूमा भर्सटाइल डबल पर्पसका रूपमा लोकप्रिय मोडेल समेत भइसकेको छ ।

अफरोड ट्रेलहरू र शहरी यात्रा दुवै ठाउँमा राइड गर्न डिजाइन गरिएको डब्लूआर १५५ आरमा धेरै बलियो सेमि डबल क्र्याडल फ्रेम र टल स्ट्यान्स हाइलाइट एड्भेन्चर फिल दिने लुक्स छ ।
मोटरसाइकलमा लङ ट्राभल सस्पेन्सनका रूपमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि लिंक टाइप मोनोशक, हाइड्रोलिक डिस्क ब्रेक सिस्टम, डबल पर्पस टायर दिइएको छ ।
साथै, यसको फ्रन्टमा २१ इन्च र रियरमा १८ इन्चको वायर स्पोक ह्वील, ८.१ लिटरको इन्धन ट्यांकी, इन्धन ट्यांकी श्राउडमा डब्लूआर ग्राफिक्स लोगो, यामाहाको सिग्नेचर रेसिङ ब्लू पेन्ट कलर, एक्सपोज्ड फ्रेम, हाई माउन्टेड एग्जस्ट, न्यारो टेल सेक्सन, कम्प्याक्ट एलइडी टेल ल्याम्प, २४५ एमएम ग्राउन्ड क्लियरेन्स र ८८० एमएम सिट हाइट छ ।
मोटरसाइकलमा पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इलेक्ट्रीक स्टार्ट सिस्टम पाउन सकिन्छ ।

मात्र १३४ किलोग्रामको हल्का तौल रहेको डब्लूआरमा कम्पनीले यामाहाको आर १५ र एमटी १५मा प्रयोग गरेको १५५ सीसी, सिंगल सिलिण्डर लिक्विड कूल्ड, फोर भल्भ, एफआई, भेरिएबल भल्भ एक्चुएशन (भीभीए) इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम १६.७ पीएस पावर तथा १४.३ एनएमको टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।
डब्लूआर १५५ आर मोटरसाइकलले रफ टेरानमा सहज यात्रा बनाउन मद्दत गर्नुका साथै वास्तविक अफरोड मेसिनको फिल दिन्छ।
नेपालमा यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडले ७ लाख ४९ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री गर्दै आएको डब्लूआर १५५ आर भारतमा २ लाख भारु हाराहारीमा लन्च गर्ने अनुमान छ ।

