काठमाडौं । कोरियन ब्राण्ड हुन्डाईले चीनमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभी एलेक्सियो दुई ब्याट्री अप्सनमा आउने भएको छ । कम्पनीले ६४.२ किलोवाट आवर र ८८.१ किलोवाट आवरका दुई ब्याट्री अप्सन दिइएको हो ।
सानो ब्याट्री साइजले सिंगल चार्जमा ५१८ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसी टेस्टले देखाएको छ । साथै, यसको ठूलो ब्याट्रीले ७२२ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । तर, सीएलटीसीले प्रमाणित गरेको रेन्जभन्दा बास्तविक सडकमा कम रेन्ज पाइन्छ । कम्पनीले चीनमा यसको प्रि-सेल्स सुरु गर्न लागेको हो । आगामी बिहिबारबाट प्रि-सेल्स सुरु हुनेछ ।
बेइजिङ-हुन्डाईले उत्पादन गरेको एलेक्सियो एसयूभी इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्ममा तयार भएको हो । यसमा क्वालकम स्न्यापड्रागन एसए ८२९५ पी चीपको प्रयोग भएको छ ।
एलेक्सियो एसयूभीको लम्बाइ ४६१५ एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६७३ एमएम छ । यसको ह्वीलबेस २७५० एमएमको छ ।
फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुबै अप्सनमा आउने एसयूभीमा अगाडि १६० किलोवाट र पछाडि ७३ किलोवाटको मोटर दिएको छ । जसको संयुक्त पावर २३३ किलोवाटसम्म हुनेछ ।

कम्पनीका अनुसार एलेक्सियो ईभीको चार्जिङ क्षमता पनि निकै तिब्र छ । यसलाई केबल २७ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एसयूभीमा २७ इन्चको विशाल स्कृन दिइएको छ । जहाँ सुचना, सेटिङ र मनोरन्जका गतिविधि संचालन गर्न सकिन्छ । फिजिकल बटमहरु हटाइएको ड्यासबोर्डसँगै हेडअप डिस्प्ले पाउन सकिन्छ । एसयूभीको विभिन्न २९ स्थानमा स्टोरेज छन् ।

