उदयपुरमा गुडिरहेको कारमा आगलागी, एक बालक घाइते

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेँरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ ।

सोमबार बिहान ९:५० बजेतिर इलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कार जलेर पूरै ध्वस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका सूचना अधिकारी (डीएसपी) केदारमान दोङले उदयपुरगढीको अधेँरीको उकालोमा कारमा अचानक आगलागी भएको जानकारी दिए ।

उनका अनुसार उक्त कारमा एउटै परिवारका ४ जना सवारी थिए । तीमध्ये कान्छो छोराको खुट्टामा सामान्य चोट लागेको उनले बताए ।

‘आज बिहान इलामबाट काठमाडौं जाँदै गरेको फोर्ड फिगो गाडीमा अधेँरीको उकालो चढ्दै गर्दा अचानक आगलागी भयो । कार पूरै जलेको छ,’ उनले मेरोअटोसँग भने, ‘कारमा एउटै परिवारमा ४ जना (बाउ, आमा र दुई छोरा) थिए । जसमा सानो छोराको खुट्टामा सामान्य चोट लागेको थियो । अहिले उपचारपछि डिस्चार्ज भइसके ।’

आगलागीको कारण नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।


Back_to_top