काठमाडौं । गत असोज १८ र १९ गते रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गमा थप मर्मत थालिएको छ ।
अस्थायी डाइभर्सन निर्माण गरी शुक्रबारदेखि एकतर्फी संचालनमा ल्याइएको बीपी राजमार्गमा थप मर्मत सुरू गरिएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर संचालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत थालिएको हो ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने बताए । उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिनधुलीको नेपालथोकसम्म १९ स्थानमा साढे ४ किलोमिटर बढी डाइभर्सन बगाएको थियो । गत सोमबारदेखि लगातार नयाँ डाइभर्सन निर्माण थालिएको थियो । रातिमा समेत काम गरेर शनिबारदेखि औपचारिक रुपमै संचालनमा ल्याइएको थियो ।
राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो ।
डाइभर्सन बनाइएको क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन समेत कार्यालयले अपिल गरेको छ ।
बीपी राजमार्ग काठमाडौंबाट पूर्वी तराई जोड्ने सबैभन्दा छोटो दुरीको सडक हुँदै हो । यस सडक हुँदै दैनिक हजारौं सवारी साधन आवत जावत गर्छन् ।

