काठमाडौं । सन् २०२५ को ६ महिनाको बिक्री तथ्यांक अनुसार भारतमा विद्युतीय कारको बिक्रीमा उछाल आएको छ । अप्रिलदेखि सेप्टेम्बर अन्तिमसम्मको ६ महिनामा गतवर्षको सोही अवधिको तुलनामा १०८ प्रतिशतले विद्युतीय कारको बिक्री बढेको हो ।
सन् २०२५ को अप्रिलदेखि सेप्टेम्बर अन्तिमसम्म ९१ हजार ७२६ युनिट विद्युतीय कार बिक्री भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा ४४ हजार युनिट ईभी बिक्री भएको थियो ।
यो विक्रीसँगै कुल कार बिक्रीको ५ प्रतिशत हिस्सा ईभीको पुग्यो । जुन अघिल्लो वर्ष केबल २.६ प्रतिशत मात्रै थियो । सन् २०२५ को अप्रिलदेखि सेप्टेम्बरमा सबैभन्दा धेरै वृद्धि महिन्द्राले पाएको छ । भारतीय उत्पादक महिन्द्राले ईभीको बिक्री ५३१ प्रतिशतले बढाएको छ ।
महिन्द्राले ल्याएको बीई सिक्स र एक्सईभी ९इ को माग बढ्दा ६ महिनामा १९ हजार ४३६ युनिट विद्युतीय एसयूभी बिक्री गर्न सफल भएको हो । महिन्द्राले भारतमा धेरै ईभी बिक्री गर्ने टाटा र एमजीलाई पच्छाइरहेको छ ।
यस अवधिमा सबैभन्दा धेरै विद्युतीय कार टाटा मोटर्सले बिक्री गरेको छ । टाटाको बिक्री पनि ५९ प्रतिशतले बढेको हो । टाटाको सबै प्यासेन्जर कार बिक्रीमा ईभीको हिस्सा १७ प्रतिशत पुगेको छ । कम्पनीले नेक्सन, पन्च, टियागो, कर्भ र ह्यारीयर ईभीमा पनि बिक्री गर्दै आएको छ ।
जेएसडब्लु एमजीले एक वर्षमै विण्डसर ईभीको बिक्री ५० हजार युनिट कटाएको छ । विण्डसर भारतमा सर्वाधिक छिटो ५० हजार युनिट बिक्री पुरा गर्ने विद्युतीय कार हो । एमजीको ईभी बिक्री २२० प्रतिशतले बढेको हो ।
भारतको अटोमोवाइल पावर हाउस मारुती सुजुकी र हुन्डाईले पनि भारतको बजार अनुसारको ईभी ल्याउने घोषणा गरिसकेका छन् । सुजुकीले भारतमा बनाएर ६ हजारभन्दा धेरै इलेक्ट्रीक भिटारा युरोप पठाइसकेको छ । भारतमा भने अर्को महिनाबाट बिक्री सुरु हुँदैछ ।
हुन्डाईले पनि क्रेटा ईभीभन्दा कम मूल्यको कम्प्याक्ट इलेक्ट्रीक एसयूभी बजारमा ल्याउँदैछ । भारतीय बजारमा बीएमडब्लू, मर्सिडिज बेन्ज जस्ता ब्राण्डहरुले पनि ईभी बिक्री बढाउँदै लगेका छन् ।

