काठमाडौं । मेरोअटो डटकमले बीवाइडी एटो वानको टेस्ट ड्राइभ गरेको छ । उक्त टेस्ट ड्राइभ काठमाडौंको वरपर रहेका डाँडाहरुमा केन्द्रित थियो ।
सहरी क्षेत्रको लागि उपयुक्त भन्दै विश्व बजारमा चर्चा कमाएको एटो वान उपत्यका वरपर ड्राइभ गर्दा नै यसको पर्फमेन्स अनुमान गर्न सकिने कार हो । साइजका आधारमा झण्डै चार मिटर लामो ह्याचव्याक कार बजारमा विभिन्न कोणबाट चर्चा भइरहेको मोडल हो ।
धेरैले यसलाई महंगो भयो भनेका छन् । कसैले फिचर काटेर ल्याइएको मोडल भनेका छन् । मिश्रित प्रतिक्रिया पाएको कारका विषयमा हाम्रो बुझाई पनि मिश्रित नै छ ।
हामीले यसलाई चलाएपछि यसको बलियो पक्ष के के हुन् भन्ने विषयमा खोजेका छौं । जुन निम्न अनुसार छ ।
१. सजिलै तान्ने डिजाइन
बीवाइडी एटो वानको सबैभन्दा पहिलो र बलियो पक्ष यसको डिजाइन हो । यसको डिजाइन विश्वमै धेरै मानिसको ध्यान खिच्न सफल भएको छ । एजहरुको प्रयोग, पृथक ह्वीलआर्क, १६ इन्चको ह्वील, स्पोर्टी बम्पर, आक्रमक फ्रन्ट लुक्सको कारण धेरैले यसलाई मनपराएका छन् ।

२. चलाउन निकै सजिलो
ह्याचव्याक कार चलाउन सजिलै हुन्छ । तर, यसलाई घुमाउरा बाटाहरुमा चलाउँदा पनि निकै सहज महसुस हुन्छ । ५ मिटरभन्दा छोटो टर्निङि रेडियस, जस्तोसुकै स्थानमा ‘बडीरोल’ अनुभव नहुनु र ठूलो एसयूभीकै जस्तो स्टेरिङ ह्वीलको कारण चालकलाई निकै सहज महसुस हुन्छ ।
३. बटनको प्रयोग
एटो वानमा बीवाइडीले बटनहरुको प्रयोग ब्यापक गरेको छ । अटो होल्ड, एसी कन्ट्रोलका बटनहरु, गियर पनि बटनमै उपलब्ध छ । यसका अलाव ड्राइभ मोड सेलेक्सनदेखि हाजार्ड लाइटसम्मका बटनहरुको प्रयोगले स्कृनमा खोजेर गाडी मिलाउनु पर्ने झन्झटबाट प्रयोगकर्तालाई मुक्त गरेको छ ।
४. सिटहरु
बीवाइडीले एटो वानमा प्रयोग गरेको सिटहरु निकै नरम छन् । चालक सिट अटोमेटीक एड्जस्ट गर्न मिल्ने छ । पछाडिको सिट फोल्ड गर्न मिल्दैन । तर, निकै आरामदायी फिल दिन भने सक्षम छ ।

५. रेन्ज
एटो वानको अर्को बलियो पक्ष रेन्ज हो । टप भेरियन्ट एटो वानले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । उपत्यकामा चलाउँदा यसको रेन्ज लगभग ३०० नै हामीले पायौं । बीवाइडीको ब्लेड ब्याट्री र रेन्जले धेरैलाई तान्छ नै ।
एटो वानको सबै बलियो पक्ष मात्रै छैन । यसमा केही कमजोरी पक्कै छन् । तर, यसको कमजोरी र सबल पक्षमा कुन धेरै महत्वपूर्ण हुन्छ भनेर तुलना गर्ने र निर्णय लिने अधिकार उपभोक्तामा निहित हुन्छ ।
१. सानो बुट
गाडीको साइजको तुलनामा बुट स्पेश कम छ । एटो वानको लम्बाइ ३९२५ एमएम छ । जबकी यो साइजको ह्याचव्याक कारमा ३०० लिटरभन्दा माथिको बुट स्पेश दिन सकिन्थ्यो । तर, बीवाइडीले पछाडिको सिट र त्यसमा यात्रा गर्ने यात्रुको कम्फर्टलाई हेरेर बुट स्पेस सानो बनाएको देखिन्छ ।

२. प्रविधिको प्रयोग कम
बीवाइडीले यसको विभिन्न भर्सन अन्तर्राष्ट्रिय बजारमा ल्याएको छ । तर, एटो वान नामबाट आएका देशमा एडास फिचर हटाइएको छ । जसलाई प्रविधिको प्रयोगमा कन्जुसाई गरेको मान्न सकिन्छ । त्यसैले यसमा ३६० डिग्री क्यामेरा समेत छैन ।
यी दुई कुरा बाहेक एटो वानमा त्यति ठूलो कमजोरी छैन । साइमेक्स इंकको देशभर रहेका बिक्री तथा सर्भिस केन्द्र, बीवाइडीको ब्राण्ड नेम लगायतका कुराले मूल्यलाई गौण बनाउन सक्छ ।

