युरोपियन कारलाई नेपालमा टिक्नै कठिन, के गर्दैछन् बिक्रेता ?

काठमाडौं । मास मार्केट ब्राण्डका रुपमा नेपालमा बिक्री हुँदै आएका युरोपियन कार ब्राण्ड टिक्नै नसक्ने अवस्थामा पुगेका छन् । सन् २०१७/१८ सम्म राम्रो बजार हिस्सा पाइरहेको युरोपियन कार ब्राण्डको पतन चिनियाँ कारको उदयसँगै भएको हो ।

अहिले नेपालमा बिक्री भइरहेका युरोपियन ब्राण्डहरु बीएमडब्लु, फक्सवागेन, प्यूजो र स्कोडासँग इन्ट्री लेवलमा कुनै मोडल छैन । यी सबै ब्राण्डले ठूला गाडी बिक्रीमा केन्द्रित गरेका छन् ।

फ्रेन्च कम्पनी रेनो र सिट्रोनसँग इन्ट्री लेवलका कारहरु भएता पनि इन्डियन र कोरियन ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसकेर लगभग आयात नै ठप्प छ ।

सुरुवाती मूल्य ५० लाखदेखि ७ करोडसम्म पर्ने प्रिमियम युरोपियन ब्राण्डलाई भारतका स्थानीय टाटा, महिन्द्रा, मारुती सुजुकीदेखि कोरियन हुन्डाई र कियाले राम्रो प्रतिस्पर्धा दिइरहेका छन् ।

पछिल्लो समय नेपाल भित्रिएका चिनियाँ इलेक्ट्रीक कारको बिक्रीपछि इन्डियन र कोरियन ब्राण्डलाई बिक्रीको आधारमा आधा कममा झारिसकेका छन् । त्यस्तोमा युरोपियन ब्राण्डको राम्रो ब्यापार हुने कुरै भएन ।

प्रिमियम, लग्जरी, कम्फर्ट र नयाँ टेक्नोलोजीका लागि नेपाली ग्राहकहरुको रोजाइमा युरोपियन कारहरुको भन्दा राम्रो अफर चिनियाँ ब्राण्डहरुले गरिरहेका छन् । युरोपियन कारहरुमा पाइने सम्पूर्ण फिचर र टेक्नोलोजी चिनियाँ ब्राण्डहरुले आधाभन्दा कम मूल्यमै अफर गरेका छन् । तर, चिनियाँ कार इलेक्ट्रीक भएको कारण सरकारले दिएको कर छुटको फाइदा पाएर सस्तो भएका हुन् ।

अहिले युरोपियन कार ल्याएर बिक्री गर्दै आएका बिक्रेताहरु समेत चिनियाँ ईभी ल्याउन तँछाड मछाड गरिरहेका छन् ।

के गर्दैछन् युरोपियन कार बिक्रेताहरु ?

नेपालमा युरोपियन कार ल्याएर बिक्री गर्दै आएको स्कोडाको आधिकारीक बिक्रेता एमएडब्लू ग्रुपको पुरै ध्यान चिनियाँ ईभी आयात र बिक्रीमा देखिन्छ । त्यसका बाबजुद एमएडब्लूको स्कोडा टीमले भारत र युरोपबाट गाडी ल्याएर केही संख्यामा बिक्री गर्दै आएको छ ।

विशाल ग्रुप अन्तर्गतको एड्भान्स अटो मोवाइल कम्पनीले रेनोका कार बिक्री गर्दै आएको छ । उसको ध्यान पनि रेनोको तुलनामा अन्य ब्राण्डका ईभी ल्याउनमै देखिन्छ । उसले छिट्टै भिनफास्ट ब्राण्डका ईभी नेपालमा ल्याउँदैछ ।

युरोपियन ब्राण्डहरु सिट्रोन र प्यूजो बिक्री गर्दै आएको साँग्रिला मोटर्सले चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी लीपमोटरका ईभीहरु बिक्री गर्दै आएको छ । स्टेलान्टिस ग्रुपको लगानीसँगै लीपमोटरका गाडी साँग्रिला मोटर्सले नेपाल ल्याएको हो ।

फक्वागेन ब्राण्डका गाडी बिक्री गर्दै आएको विसाल ग्रुप पनि चिनियाँ इलेक्ट्रीक भ्यानहरु बिक्रीमा केन्द्रित देखिन्छ । उसको ध्यान चिनियाँ ब्राण्डको इलेक्ट्रीक ट्याक्सी ल्याएर बिक्री गर्नेमा पनि छ ।


Back_to_top