सिटमै मसाज सुविधा पाइने ३ एसयूभी, तपाईंको बजेटमा कुन आउँछ ?

काठमाडौं । मसाज सिट भएको एसयूभी तपाईंं खोज्दै हुनुहुन्छ भने विकल्पहरू थपिँदै गएका छन् । कुनै समय गाडीमा एसी हुनु ठूलो कुरा थियो । त्यसपछि हिटेड र भेन्टिलेटेड सिटले यात्रालाई रोमाञ्चक बनायो । अब मसाज सिटको विकल्पले मानिसलाई थकान मेट्ने अप्सन पनि दिन थालेको छ ।

पछिल्लो समय अटोमोबाइल कम्पनीहरूले चालक र यात्रुको सुविधाको लागि गाडीको सिटमै मसाजको फिचर दिन थालेका छन् । गाडी चलाउँदा होस् वा यात्रा गर्दा लामो समय गाडीको सिटमा बस्नुपर्छ । त्यसमा पनि हाइवेको लामो यात्रामा त कहिलेकाहीँ ८÷१० घण्टा एउटै सिटमा बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मसाज सिट तपाईंको लागि संजीवनी बन्न सक्छ ।

नेपाली बजारमा प्रिमियमदेखि औसत मूल्यका चीनमा बनेका विद्युतीय कारमा मसाज सिटहरू आउन थालेका छन् । खासगरी, विद्युतीय गाडी निर्माताले इन्जिन र गियरबक्समा ठूलो रकम खर्च गर्नु नपर्ने भएकाले यस्ता लग्जरी कुराको खोजमा पैसा खन्याउन पाएका छन् ।

अहिले आएका गाडीमा सिटलाई १० तरिकाले मिलाउन मिल्ने, चिसोमा सिट तातो बनाउने र गर्मीमा चिसो बनाउने सुविधा दिएको पाइन्छ । चालकलाई गाडीमा वेलकम गर्नेदेखि एकपटक मिलाएपछि त्यो सिटिङ पोजिसन सेभ गरेर राख्ने मेमोरी फङ्सन पनि सामान्य भइसकेको छ ।


अहिलेसम्म मसाज सिट एकदमै कम मोडलमा मात्रै उपलब्ध छ । यस्तोमा हामीले मसाज सिट भएका तीन मोडलका बारेमा यहाँ चर्चा गरेका छौं ।

फरथिङ फ्राइडे

डोङफेङको न्यू इनर्जी भेहिकल ब्राण्ड फरथिङको एसयूभी फ्राइडेमा चालक सिटमा मसाज फिचर दिइएको छ । कम्पनीले चालक सिट १० तरिकाले मिलाउन मिल्नेगरी तयार पारेको छ । जसमा मसाज, भेन्टिलेटेड र हिटेड सुविधा पाउन सकिन्छ । अहिले बजारमा मसाज सिट भएको सबैभन्दा सस्तो एसयूभी नै फरथिङ फ्राइडे हो ।

नेपालको लागि फरथिङको आधिकारिक वितरक लक्ष्मी ईमोबिलिटीले मसाज सिट भएको एक्सक्लुसिभ भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

जीएसी आयोन भी

जीएसी मोटर्सको इलेक्ट्रीक एसयूभी आयोन भीको अगाडिको चालक र प्यासेन्जर दुवै सिटमा मसाज सुविधा उपलब्ध छ । इलाइट र लग्जरी दुई भेरियन्टमा उपलब्ध भी मोडलको लग्जरी भेरियन्टमा मात्रै मसाज सिट पाउन सकिन्छ ।

कम्पनीले आयोन भीको अगाडिका दुवै सिटमा हिटेड र भेन्टिलेटेड सहितको मेमोरी सुविधा दिएको छ । कम्पनीले शरीरका विभिन्न ८ स्थानमा मसाज गर्ने गरी यसलाई तयार पारेको छ । जीएसीको आयोन भीको नेपालको लागि आधिकारिक वितरक सीजी मोटर्सले लग्जरी भेरियन्टको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

अवतार ११

नेपाली बजारमा उपलब्ध चिनियाँ इलेक्ट्रीक भेहिकलमा सबैभन्दा लग्जरी र प्रिमियम अवतार ११ मा सबै प्रकारको आधुनिक लग्जरी फिचर छन् । यस्ता फिचरहरूमा मसाजको सुविधा नहुने कुरै भएन । लग्जरी क्रसओभर अवतार ११ को अगाडिको दुवै सिटमा मसाज सुविधा पाउन सक्छन् ।

अवतारमा अगाडिका दुवै साइडमा जीरो ग्राभिटी सिट दिइएको छ । मेमोरी फङ्सन सहित १२ तरिकाले एड्जस्ट गर्न मिल्ने सिट उपलब्ध एसयूभीमा अगाडिका दुवै सिट फोरवे लम्बार सपोर्टको साथमा हिटेड, भेन्टीलेटेड र मसाज सुविधा उपलब्ध छ ।

अवतार ११ नेपाली बजारमा पछिल्लो समय एमएडब्लू वृद्धिले बिक्री गरिरहेको छ । यो लग्जरी प्रिमियम कारको सुरूवाती मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ ।


Back_to_top