बीवाइडी ‘एटो थ्री’ ठूलो मोटर र ब्याट्रीप्याकमा आउँदै, रेन्ज ५०० किमीभन्दा धेरै

काठमाडौं । बीवाइडीले आफ्नो सफल कम्प्याक्ट एसयूभी एटो थ्रीको अपडेटेड भर्सनमा ठूलो साइजको ब्याट्रीप्याक र माेटर दिने भएको छ । नयाँ साइजको ब्याट्री प्याकसँगै एटो थ्री को रेन्ज समेत बड्ने भएको हो ।

यसअघि बीवाइडीको एटो थ्री मा ४९.९२ र ६०.६८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको थियो । कम्पनीले अपडेटेड एटो थ्रीमा ७४.८८ किलोवाट आवरको ब्याट्रीप्याक प्रयोग गरेको हो ।

अपडेटेड मोडलमा दिएको ठूलो साइजको ब्याट्रीप्याक पहिलाकोभन्दा करिब २४ प्रतिशतले धेरै क्षमता भएको ब्याट्री हो । अहिल रहेको एटो थ्रीको सानो ब्याट्रीप्याकले ३४५ र ठूलोले ४२० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।

नयाँ ब्याट्रीले सीएलटीसी साइकल अनुसार ६५० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ छ । डब्लूएलटीपी रेन्ज भने ५२० किलोमिटर हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

बीवाइडीले अपडेटेड एटो थ्रीमा ब्याट्रीको साथमा मोटरको साइज समेत बढाएको छ । यसअघि एटो थ्रीको चिनियाँ स्पेकमा १५० किलोवाटको मोटरको सट्टामा अपडेटेड मोडलमा २३० किलोवाटको मोटर दिएको छ । ठूलो मोटरसँगै अब यसको टपस्पीड पनि १६० बाट १८० किलोमिटर प्रतिघण्टाको हुने भएको छ ।

नयाँ एटो थ्रीमा पनि पहिलाको जस्तै ४४५५ एमएम लम्बाइ, १८७५ एमएम चौडाइ, १६१५ एमएम उचाइ र २७२० एमएम ह्वीलबेस रहेको छ । नयाँ एटो थ्रीमा नयाँ डबल फाइभस्पोक ग्रेकलरको स्पोर्टी रिम रहेको छ । यसको साइज भने १८ इन्चको र टायरको स्पेशिफिकेसन २१५ बाइ ५५ वा २३५ बाइ ५० रहेको छ ।

नयाँ एटो थ्रीमा अर्को परिवर्तन चार्जिङ पोर्टको पोजिसनमा हुने भएको छ । नयाँमा अब फ्रन्ट राइज फेन्डरमा रहेको पोर्ट राइट साइडकै रियर फेन्डरमा सारिएको छ ।

एटो थ्रीमा प्यानारोमिक सनरुफ, फ्रन्ट राडार, साइड क्यामरा, रियर क्यामरा र विण्डो ट्रिम रहेको छ । एटो थ्री मा बीवाइडीको गड्स आई एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम रहेको छ । जसमा २९ वटा सेन्सर, ५ एमएमको वेभ राडार, १२ वटा हाइ डेफिनेसन क्यामरा र १२ वटा अल्ट्रा सोनिक राडार लगायत रहेको छ ।


Back_to_top